किन महँगियो सुन ?

किन महँगियो सुन ?
सुन्नुहोस्

काठमाडौं : अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य अत्यधिक बढ्न थालेकाले तुलनात्मक रूपमा यसको प्रभाव नेपालमा पनि परेको छ। 

रूस–युक्रेनको युद्ध सुरु भएसँगै बढ्न थालेको सुनको मूल्य दिनप्रतिदिन महँगो हुँदै गएको सरोकारवालाको भनाइ छ। द्वन्द्व, अस्थिरता र अराजक गतिविधि बढ्दै गएमा मानिसले सम्पत्ति सुरक्षित गर्ने क्रममा सुन किन्ने हुँदा मूल्य बढ्ने प्रवृत्ति छ।

पछिल्लो समय छापावाला र तेजाबी सुनको मूल्य ह्वात्तै बढेर नयाँ कीर्तिमान कायम भयो। चैत्र ५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुग्यो। २ हजार ९ सयले वृद्धि भएर नयाँ कीर्तिमान कायम गरेको थियो। यद्यपि त्यसपछि घटबढ भइरहेको छ। 

यो मूल्य अहिलेसम्मकै उच्च नै ठान्न सकिन्छ। किनभने योभन्दा अघि गत माघ १९ गते १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसपछि घटबढ हुँदै गएको सुनको मूल्य तुलनात्मक रूपमा अहिले बढेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्यका अनुसार सुनको मूल्य अहिलेसम्मकै उच्चमा पुग्नुको मुख्य कारण अन्तर्राष्ट्रिय स्तरमै मूल्य ह्वात्तै बढ्नु हो। उनका अनुसार लामो समयदेखि रूस–युक्रेनको युद्ध र संसारकै आर्थिक प्रणाली परिवर्तन भएकाले पनि सुनको मूल्य बढेको देखिन्छ। 

विभिन्न विदेशी बैंकले पनि सुन राख्ने परिमाण बढाएका कारणले पनि माग अत्यधिक देखिएकाले सुनको मूल्य बढ्दै गएको उनको ठहर छ। 

पछिल्लो प्रवृत्ति हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको सरोकारवालाको अनुमान छ। अन्तर्राष्ट्रिय बजारमा अस्थिरता बढेको छ। युरोपेली मुलुकमा सातामै तीन बैंकको स्थिति नाजुक बन्यो। अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक बन्द भएसँगै स्विटजरल्यान्डको क्रेडिट स्विस बैंक पनि चिन्ताजनक अवस्थामा रहेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको छ। 

यही उदाहरण दिँदै उनले भने, ‘यसैले अन्तर्राष्ट्रिय स्तरमै अर्थतन्त्र शिथिल हुँदैछ। यसअघि कतिपयको आकर्षण क्रिप्टो करेन्सीमा थियो। किनभने यसलाई कतिपय मुलुकले सम्पत्तिको साधक मानेका थिए। तर यसको जोखिम बढी भएपछि यो सुरक्षित लगानी, सम्पत्ति होइन भनेर प्रमाणित भयो। यसबाट पनि मानिसहरू विरक्त भएर सुनप्रति आकर्षित भएको हो।’ अन्तर्राष्ट्रिय बजारमा सुनलाई सुरक्षित लगानीको महत्व दिन थालेकाले यसको मागसँगै मूल्य बढेको उनको तर्क छ। यसकारण सुनको भाउ अब उच्च रूपमा बढ्ने सम्भावना देखिएको अध्यक्ष शाक्यको अनुमान छ। 

डलर र सुनको सम्बन्ध

सामान्यतया डलर र सुनको मूल्यवृद्धिको विपरीत सम्बन्ध हुन्छ भनिन्छ। तर यो अन्तर्राष्ट्रिय बजारमा मात्र लागू हुने अध्यक्ष शाक्य बताउँछन्। मुद्रा र सुन दुवैलाई लगानी गर्ने क्षेत्रको रूपमा लिइन्छ। कसैले डलर, कसैले पाउन्ड, युरोलगायतको मुद्रामा लगानी गर्छन्। 

अन्तर्राष्ट्रिय मुद्रा बजारमा वस्तु विनिमय (कमोडिटी) जस्तै मुद्रा किनबेच गर्न पाइन्छ। यसो हुँदा डलरको मूल्य बढे सुनको घट्ने र डलरको मूल्य घट्दा सुनको बढ्ने हुन्छ। तर नेपालमा यस्तो मुद्रा लगानीको बजार छैन। यसैले नेपालको सन्दर्भमा डलर किनेर सुन खरिद गर्नुपर्छ। यसकारण नेपालमा भने डलरको भाउ जति बढ्दै गयो त्यति सुनको मूल्यमा दबाब पर्न गएको अध्यक्ष शाक्य बताउँछन्। 

अहिले एक डलरको खरिद मूल्य १३१.७९ र बिक्री मूल्य १३२.३९ रुपैयाँसम्म पुगेको छ। जबकि गत वर्ष प्रतिडलर करिब १ सय २३ रुपैयाँ हाराहारीमा थियो। नेपालको मुद्रा अवमूल्यन हुँदै गइरहेको छ। तर डलर बलियो हुँदै गएको छ। अर्कोतर्फ सुनको अन्तर्राष्ट्रिय बजारमै मूल्य एकदमै उच्च हुँदै गएको छ। ‘यसअघि जुन गतिले बढ्थ्यो अहिले त्यसको सीमा पार हुनेगरी डलरको मूल्य बढेको छ। 

अन्तर्राष्ट्रिय बजारको उच्च मूल्यको सुन खरिद गर्न अहिले बढेको डलरको विनिमयदर तिरेर किन्नु परेको छ। यस्तो दोहोरो मारले गर्दा नेपाली बजारमा सुनको भाउ चर्किएको हो,’ अध्यक्ष शाक्यले भने। 
नेपालको अर्थतन्त्र पनि यतिबेला दबाबमा छ। अधिकांश सहकारीको हालत खराब छ। बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्थाको कर्जाको ब्याजदर चर्को भयो भन्दै आन्दोलनामा उत्रेका छन्। 

यी सबै कारणले गर्दा कतिपय व्यापार अर्थात् आर्थिक गतिविधि खुम्चिएको छ। यस अवस्थामा सुनको बजार भने समग्रमा राम्रै भएको महासंघका अध्यक्ष शाक्य बताउँछन्। 

तर नेपाल राष्ट्र बैंकले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति घटाउन आयातलाई नियन्त्रित गर्ने क्रममा सुनको कोटा घटाएर प्रतिदिन १० केजी मात्रै ल्याउन पाउने व्यवस्था गरेको थियो। अहिले सुनको मूल्य बढ्दा माग नबढे पनि नेपाली संस्कारअनुसार विवाह, सम्पत्तिको रूपमा जम्मा गर्ने प्रवृत्तिलगायतका कारण बिक्रीमा कमी नभएको उनले जानकारी दिए। 

कोभिडपछि सुनको मूल्य वृद्धि

२०७६ सालमा कोभिड–१९ सुरु हुँदा सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ हाराहारीमा थियो। तर कोभिडकालमै सुनको भाउ ह्वात्तै बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। यसपछि फेरि घटेर प्रतितोला ८० हजार रुपैयाँसम्म पनि आयो। यसपछि फेरि क्रमशः बढिरहँदा अहिले १ लाख १० हजारसम्मको उचाइसम्म पुगेको हो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.