बढ्यो चाँदी आयातमा भुक्तानीको सीमा
![बढ्यो चाँदी आयातमा भुक्तानीको सीमा](https://annapurnapost.prixacdn.net/media/albums/silver-bullion_20190702025618_M8ZqnfRwti.jpg)
काठमाडौं : चाँदी आयातमा भुक्तानीको सीमा बढेको छ। अब चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर साठ्ठी हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने भएको छ।
यसअघि प्रतिपटक अमेरिकी डलर पैँतीस हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्नसकिन्थ्यो। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
अहिले बढेको आयातमा भुक्तानीको सीमाअनुसार गर्दा चाँदीको गरगहना तथा कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई विभिन्न प्रावधान राखिएको छ। जसअन्तर्गत निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश हुनु पर्ने छ। त्यस्तै कागजातमा उल्लेखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ। तर यसका लागि प्रति पटक अमेरिकी डलर साठ्ठी हजारको सटही सीमाभने लागू नहुने बताइएको छ।
सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए/नभएको यकिन गर्नु पर्नेछ। ‘सम्बन्धित वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनु पर्नेछ। साथै, चाँदी आयात गर्दा प्रचलित व्यवस्थाबमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्यरुपमा मास्टर एयरवे बिलसमेत संलग्न हुनु पर्नेछ। तर हाउस एयरवे बील तथा बिल अफ ल्याण्डिङबाट चाँदी आयात गर्न पाइनेछैन,’ एकीकृत परिपत्रमा उल्लेख छ।
विदेशमा सेवा बिक्रीट गरेर बैंकिङ प्रणालीमार्फत् रकम भित्र्याउन पाउने
नेपालमा स्थापना भएका कुनै फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिले विदेशस्थित सेवा खरिद गर्नेलाई सेवा उपलब्ध गराए वापत बैंकिङ प्रणालीको माध्यमबाट (नगदबाहेक) रकम भित्र्याउन पाउने भएका छन्। यसअघि यस्तो वयवस्था थिएन। अब भने नेपालमा रहेका संस्थाले विदेशम सेवा बिक्री गरेपछि बैंकिङ प्रणालीबाट रकम भित्र्याउने बाटो राष्ट्र बैंकले खुलाएको हो।
उक्त सेवा प्राप्तको लागि संस्थाले भने आवश्यक कागजातहरू यकिन गरी बैंक तथा वित्तीय संस्थाको सम्बन्धित नेपाली निर्यातकर्ताको खातामा रकम जम्मा गर्न सक्नेछन्। तर यसका लागि निर्यातकर्ताको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्छ। सेवा आयातकर्तालाई जारी गरिएको बिल बिजक वा खरिद आदेश, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालगायत अन्य प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्थाहरूको पालना भएको/पालना हुनेसम्बन्धी निर्यातकर्ताको स्वघोषणा गरेको हुनुपर्ने छ।
यससँगै निर्यातको भुक्तानी स्विफ्ट, ड्राफ्ट तथा टीटीलगायत विद्युतीय भुक्तानीका उपकरणमार्फत् प्राप्त गर्न सकिने व्यवस्था गरेको छ। तर भारुमा भएको निर्यातको हकमा भने नेपाली रुपैयाँको खातामा मात्र जम्मा हुने राष्ट्र बैंकले बताएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)