मानसिक सन्तुलन गुमाएका बालिका यौन हिंसाको सिकार

मानसिक सन्तुलन गुमाएका बालिका यौन हिंसाको सिकार
साँफेबगरस्थित सेफ हाउसमा रहेका पीडित बालिकाहरू। अन्नपूर्ण
सुन्नुहोस्

अछाम : अछाम साँफेबगर नगरपालिका–२ जाल्पादेवीकी अनिता (नाम परिवर्तन) १२ वर्षकी भइन्। परिवारको माया र स्कुल जाने साथीहरूसँग रमाउने उमेर हो उनको। तर, उनी अहिले साँफेबगरस्थित सेफ हाउसमा छिन्। सेभ हाउसका कर्मचारीले उनको विशेष निगरानी गर्छन्। बेलाबेलामा उनी सेभ हाउसबाट भाग्ने गर्छिन्। अनिता दुई वर्षको हुँदा आमाको मृत्यु भयो।

आमाको मृत्युपछि परिवारबाट माया पाउन सकिनन्। अनिताले विद्यालय पाउने त झन् कुरै भएन। घरमा सौतेनीआमाबाट कुटपिट हुन थालेपछि मानसिक रूपमा उनले तनाव खेप्नु पर्‍यो। अनिताको विस्तारै मानसिक सन्तुलन बिग्रिँदै गयो। घरमा बस्ने वातावरण नभएपछि उनी साँफे बजार अलपत्र अवस्थामा बस्न थालिन्। बजारमै अलपत्र अवस्थामा बस्न थालेपछि उनीमा यौन हिंसासमेत हुँदै गयो।

उनी माथि भइरहेको दुव्र्यवहार जानकारी पाएपछि मानसिक स्वास्थ परामर्श केन्द्रकी सामुदायिक मनोसामाजिक कार्यकर्ता सिर्जना कुँवर खड्काले अनितालाई सेफ हाउससम्म ल्याइन्। परिवारले वास्तै गर्न छोडेपछि अनिताको अवस्था झनै बिग्रिँदै गएको खड्काले बताइन्। उनले भनिन्, ‘बजारमा अनितामाथि भएका दुव्र्यवहारका कुरा धेरै सुन्नमा आए। रातिको समयमा पनि बजारमै बस्ने रहेछ। अपराधी मानसिकता भएकाहरूले मानसिक समस्या भएका बालिकाहरूलाई पनि नछोड्ने भए। अहिले सेफ हाउसमा राखेर उपचार र काउन्सिल गरिरहेका छौं।’ 

केही महिनाअघि महिला हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन थियो। रामारोशन गाउँपालिकाकी १८ वर्षिया साबी (नाम परिवर्तन) साँफेको एयरपोर्टमा सडकमा अलपत्र अवस्थामा थिइन्। जाडोको महिना उनको शरीरमा एकसरो लुगा मात्र थियो। उनी एक्लै बर्बराउँदै थिइन्। बजारमा वरपर मानिसहरू हेर्दै हाँस्दै थिए। आफूलाई होटलमा लगेर जबर्जस्ती गरेको र अहिले सडकमा छोडिदियो भन्दै उनी ठूलो स्वरमा कराउँदै थिइन्। आफूमाथि पटकपटक भएको दुव्र्यवहारको बारेमा चिच्याउँदै सुनाउँदै थिइन् सबैलाई।

नजिकै प्रहरी पोस्टमा प्रहरी पनि थिए। उनीहरू बेखबर जस्तै थिए। पशुपति कुँवरलगायत महिला अधिकारकर्मीको टोलीले उनलाई उद्धार गरेर सेफ हाउसमा राखे। परिवारलाई खबर गरेपछि साबीका बुबा सेफ हाउसमा आइपुगे। केही दिन सेफ हाउसमा राखेर उपचार गर्ने र मुद्दा दर्ता गर्ने कुरा साबीका बुवाले अस्वीकार गरे। बरु उनले उपचारको लागि भारत लैजाने भन्दै आर्थिक जुटाइदिन आग्रह गरे। साबीका बुवा भारतमा नोकरी गर्थे। सेभ हाउसबाट केही आर्थिक जुटाएर उपचारका लागि पठाएको महिला अधिकारकर्मी तथा सेभ हाउसका कर्मचारी पवन गिरीले बताइन्। एक वर्षअघि साबीकी आमाको मृत्यु भयो। आमाको मृत्युपछि घरपरिवारबाट बेवास्ता हुन थालेपछि उनी कहिले कता कहिले कता हिँड्न र बस्न थालिन्। साबीको बिहे भएको तीन महिना भएको थियो। मानसिक समस्या कारण उनको श्रीमान्बाट समेत बेवास्ता हँुदै गयो। उनलाई धेरै पटक प्रहरीले समेत उद्धार गरेर घर पठाएको छ। साबीमाथि पनि पटकपटक बजारमा यौन हिँसा हुँदै आएको थियो।

साँफेबगर नगरपालिका– १२ खप्तड १७ वर्षीया मनसरा (नाम परिवर्तन) मानसिक सन्तुलन बिग्रिएको अवस्थामा सडकबाट उद्धार गरेर सेफ हाउसमा राखियो। उनले पनि बजारमा विभिन्न व्यक्तिहरूबाट यौन हिंसा खेप्नु पर्‍यो। केही दिन सेफ हाउसमा राखेर उपचारपछि उनलाई घर पठाइयो। 

साँफेबगरमा मानसिक सन्तुलन गुमाएका धेरै किशोरी तथा महिला माथि यौन हिंसा हुने गरेको महिला अधिकारकर्मी पशुपति कुँवरले बताइन्। पीडितकै परिवारको बेवास्ताका कारण कानुनी प्रक्रियामा जान निकै गाह्रो हुने गरेको बताइन्। यतातिर कसैको पनि ध्यान जान नसकेको र भित्रभित्रै समाज खोक्रो हँुदै गएको उनले बताइन्। उनले ‘यस्ता थुप्रै समस्यामा परेको महिला र किशोरीहरूको उद्धार गरेर सेफ हाउससम्म ल्याएका छौं। औषधि उपचार गरेका छौं। साँफे बजारमा रहेका होटलमा मानसिक सन्तुलन गुमाएकी किशोरीलाई लगेर जबर्जस्ती करणी भएको घटनासमेत बाहिर आउँदा सबै गुपचुप हुन्छन्। समृद्धिको कुरा गरिरहँदा समृद्ध नेपालका महिला र किशोरीहरू सुरक्षित हुन पर्‍यो कि परेन ?’, उनले भनिन्, ‘मानसिक सन्तुलन गुमाएका महिला किशोरीहरू माथि यौन हिंसाका घटना बढ्न थालेका छन्। बजार क्षेत्रमा यस्ता थुप्रै महिला किशोरीहरू देखिन्छन्। धेरैको हामीले उद्धार गरेका छौं। यो विषयमा राज्य नै संवेदनशील छैन।’ साबीमाथि भएको घटनाको विषयमा कानुनी प्रक्रियामा जान खोज्दा कसैबाट सहयोग नमिलेको समेत उनले बताइन्। मुद्दा दर्ताका लागि प्रहरीले स्वयं पीडित नै उपस्थित हुनुपर्छ भनेपछि प्रक्रिया अघि बढ्न नसकेको उनले बताइन्। साबीलाई उनका बुवाले उपचारको लागि भारत लगिसकेका थिए।

अहिले साँफेबजार क्षेत्रमा बलात्कार, जबर्जस्ती, यौन हिंसाका घटना बढ्दै गएको अर्का महिला अधिकारकर्मी पवन गिरी बताउँछिन्। उनले भनिन्, ‘पछिल्लो एक, दुईवटा घटनाले बजार क्षेत्र छोरीचेलीका लागि सुरक्षित छैन भन्ने देखाएको छ। अटो चालकबाट दुई जना किशोरीमाथि जबर्जस्ती, होटलमा लगेर किशोरीमाथि बलात्कार भएको घटनाले मानसिक सन्तुलन गुमाएका महिलामाथि यौन हिंसा कति भयो भन्ने हिसाबकिताब नै छैन।’

जिल्ला प्रहरी कार्यालय अछामको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा जबर्जस्ती करणी उद्योगअन्र्तगत ४, करणी ७, बहुबिवाह १, आत्महत्या ९, घरेलु हिंसाका २८ वटा मुद्दा दर्ता भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.