नाबालिका बलात्कार आरोपी पक्राउ
काठमाडौं : काठमाडौंको एक निजी स्कुलमा कक्षा ९ मा पढ्छिन् उनी। उमेर १५ वर्ष। फुर्सदमा सामाजिक सञ्जालमा सक्रिय। केहि महिनाअघि फेसबुकमा आशिष तामाङको फ्रेन्ड रिक्वेस्ट आयो। उनले सहजै एसेप्ट गरिन्। फेसबुकमा दैनिक कुराकानी हुँदै थियो। यसैक्रममा एक दिन आशिषले प्रत्यक्ष भेट्ने र घुम्न जाने आग्रह गरे। पटक–पटक भेट्न बोलाएपछि उनी गइन्। आशिषले नाबालिकालाई टोखास्थित ग्रान्डी नजिकैको एक गेस्ट हाउसमा लगे। सामाजिक सञ्जालमा कुराकानी गरिरहेकी उनी विश्वास गर्दै गत फागुन ६ गते आशिषलाई भेट्न गेस्ट हाउस पुगिन्।
होटलमा आशिष भन्ने सिन्धुपाल्चोक मेलन्चीका निमा तामाङ र उनका साथी काभ्रेका कुशल श्रेष्ठ थिए। उनीहरूले नाबालिकालाई प्रलोभनमा पारेर सामूहिक बलात्कार गरेर फरार भए। फरार रहेका आरोपी तामाङ र श्रेष्ठ यही चैत २० गते टोखा–६ धापासीबाट पक्राउ परे। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रविन्द्र पुरीका अनुसार स्कुल पढ्ने नाबालिकालाई भेट्न बोलाएर दुवै जनाले करणी गरी फरार भए।
घटनाको सम्बन्धमा नाबालिका परिवारले प्रहरीमा उजुरी गरेपछि खोजी गर्दै जाँदा आरोपीले नक्कली नाम राखी फेसबुक चलाउने गरेको खुलेको छ। उपत्यका अपराध अनुसनधान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार आरोपीहरूले नाबालिकालाई मिल्ने साथी बन्ने भन्दै कुराकानी गर्थे। प्रत्यक्ष भेटघाट गरौं, चिनजान गरांै भन्दै प्रलोभनमा पारेका थिए। घटनाको दिन दिउँसो उनी होटलमा पुगेकी थिइन्। विश्वासमा भेट्न गएकी उनलाई करकापमा पारी दुवै जनाले सामूहिक बलात्कार गरेका थिए।
बलात्कारपछि नाबालिकालाई होटलको रूममै छाडी आरोपीहरू फरार भएका थिए। निमाले ९८४८७७८०२१ नम्बरको मोबाइल फोन प्रयोग गरी आशिष तामाङ नामको फेसबुक अकाउन्ट बनाएका थिए। २१ वर्षीय निमा र २१ वर्षकै कुशल श्रेष्ठविरुद्ध नाबालिकामाथि सामूहिक बलात्कार कसूरमा अनुसन्धान भइरहेको केसीले बताए। पीडित नाबालिकाको स्वास्थ्य परीक्षणपछि परिवारकै जिम्मामा राखिएको छ। कसूर पुष्टी भए दुवै आरोपीलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद र जरिवाना सजाय हुनसक्छ।