भूकम्पले कोशीका ४ घरमा सामान्य क्षति
विराटनगर : भूकम्पले कोशी प्रदेशका विभिन्न जिल्लाका ४ घरमा सामान्य क्षति पुर्याएको छ। शुक्रबार बिहानका राति गएको भूकम्पले संखुवासभा, भोजपुर र सोलुखुम्बुका ४ घरमा क्षति पुगेको हो।
संखुवासभाका २ तथा भोजपुर र सोलुखुम्बुका १–१ घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए। उनका अनुसार घरहरु चर्किएर सामान्य क्षति भए पनि मानवीय र चौपाया क्षति भने भएन।
संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकाका ३८ वर्षीय फुर्पु नावाको घरमा आंशिक क्षति पुगेको छ। अधिकारीका अनुसार नावाको ढुंगाको गाह्रो र टिनको छानो भएको २ तले घरको पूर्व साइडको भाग भासिएको छ। घरको साइड भासिँदा पर्खाल चर्किएर आंशिक क्षति भएको हो। घर चर्किए पनि मानिस बसोबास गर्न मिल्ने अवस्थाकै रहेको प्रहरीको भनाइ छ।
त्यस्तै, भोजपुरको षडानन्द नगरपालिका–१३ पातलका ६४ वर्षीय सन्तबहादुर तामाङको घरमा पनि भूकम्पले क्षति पुर्याएको छ। ढुंगा र माटो प्रयोग गरी टिनको छानो लगाएर बनाएको २ तले घरको गाह्रो चर्किएको प्रहरीले जनाएको छ। उनका अनुसार घरसँगै रहेको ढुंगाको माटोले बनेको ग्वाली घरसमेत चर्किएको छ।
यसैबीच, भूकम्पले सोलुखुम्बुको सोताङ गाउँपालिका–३ का गोपाल बस्नेतको घरमा पनि क्षति पुर्याएको छ। ढुंगा र माटो प्रयोग गरी टिनको छानो लगाएर बनाइएको २ तले घरको पूर्वतर्फको पर्खाल चर्किएको डीआईजी अधिकारीले बताए। कोशीका ३ जिल्लाका ४ घरमा समान्यबाहेक भूकम्पले क्षति नपुर्याएको जानकारी उनले दिए। भूकम्पले थप कतै क्षति गरेको छ कि भनेर बुझ्नलाई प्रहरी परिचालन गरिएको छ। पहाडका घर सामान्य चर्किए पनि तराईमा भने भूकम्पले क्षति नगरेको उनको भनाइ छ।
भूकम्पले पुर्याएको क्षति यकिन गर्न स्थानीय तह र जनप्रतिनिधिसँग पनि समन्वय भइरहेको जानकारी डीआईजी अधिकारीले दिए। कोशी प्रदेशमा १४ वटा जिल्ला छन्। सबैतिर सम्पर्क स्थापित गर्दा भूकम्पले जनधनको ठूलो क्षति गरेको नपाइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !