अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर लुटपाट, पाँच जना पक्राउ
काठमाडौं : अमेरिकी डलर साटिदिने प्रलोभनमा लाखौं रुपैयाँ लुटपाट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न पाँच जनलाई नियन्त्रणमा लिएको हो। उपत्यकाका विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूले पीडितलाई पटक-पटक फोनमार्फत् आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटीदिने प्रलोभन देखाउने गर्थे। पीडितलाई प्रलोभनमा पारी झुक्याएर नेपाली नोट साइजको कागज काटेर रुमालमा पोको पारी दिने गरेका थिए।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उपत्यकाको साँघुरा गल्ली, पातलो मानवबस्ती र जंगलको आसपासमा बोलाएर यसखाले गतिविधि गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ। लुटपाटपश्चात एकपटक ठगि गर्न प्रयोग गरेको फोन नम्बर अफ गरेर फरार हुने गरेका थिए।
पक्राउ पर्नेमा धादिङका ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोक जिल्लाका २४ वर्षीय विकास तामाङ, धनकुटाका ३२ वर्षीय दीपक दमाई, २८ वर्षीय साजन तामाङ र सिन्धुपाल्चोक जिल्लाकै ३५ वर्षीया प्रेमबहादुर तामाङ रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
