सहकारीलाई स्वनियमन व्यवहारमा लागू गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन्।
राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको ‘तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन’ मा बोल्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय सहकारीको काम कारबाहीमा केही प्रश्न उठिरहेकाले स्वनियमन आवश्यक रहेको बताए।
सहकारी संस्थाहरूप्रति उठेका सवालहरूका विषयमा गहन छलफल गरेर महासम्मेलनले निश्कर्ष निकाल्नुपर्ने उनले धारणा राखे। ‘सहकारीमा देखिएको समस्याहरूको कारण आम नागरिकहरू प्रभावित छन्’। प्रधानमन्त्री दाहालले भने,‘चुनौतीको सामाना गर्न महासम्मेलनले उचित निश्कर्ष निकाल्नु पर्छ।’
सहकारीलाई उत्पादन र श्रमसहकारीमा रुपान्तरण गर्न आवश्यक भएको उनको भनाइ छ। वित्तीय क्षेत्रमा देखा परेको तरलताको प्रभाव सहकारीमा पनि देखिएको उनले बताए। बचतकर्ताको पैसा सुरक्षित राख्नु पर्ने सबैको दायित्व भएको उनले बताए।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा दोस्रो तहको नियामक निकाय आवश्यक रहेको बताए। गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सीमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताए।
सहकारी क्षेत्रले सिमान्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताए। सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सीमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको उनको भनाइ छ।
‘केही सीमित कमीकमजोरी र फ्रडका घटनाहरूले सहकारीप्रति अविश्वास भएको छ’, उनले भने,‘समग्रमा सहकारी क्षेत्रले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको छ।’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन महासम्मेलन कोशेढुंगा सावित हुने बताए।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताए। उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिए पनि पछिल्लो समय विस्तारै सुधारको संकेत देखिएको उनको भनाइ छ।
तीन दिनसम्म चल्ने महासम्मेलनमा सहकारी संस्थाका विगतलाई संस्थागत गर्नका लागि चाल्नुपर्ने कदम र सहकारीको आगामी दिशाको विषयमा चर्चा हुने उनले बताए।
‘तीन दिनसम्म सहकारीको स्वनियमन र सुशासनको विषयमा पनि छलफल हुनेछ। विश्वव्यापी रुपमा देखिएको आर्थिक समस्या र यसले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि निष्कर्ष निकालिनेछ,’ कँडेलले भने,‘ सहकारीमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, सहकारीलाई कुन गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुनेछ।’
महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन्। कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन्। महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागिता रहेको छ।
प्रतिक्रिया दिनुहोस !