विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी, वैदेशिक रोजगार विभागका कर्मचारीसहित ७ जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले पाउने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बिहीबार काठमाडौंको गोंगबुबाट वैदेशिक रोजगार विभागका कर्मचारसहित ७ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वैदेशिक रोजगार विभागका कर्मचारी पशुपति अधिकारी,काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका रामबहादुर तामाङ,सर्लाहीको लालबन्दी नगरपालिकाका विनोद कुमार लामा , डिकबहादुर लामा,रविन भन्ने रविन्द्र मोक्तान, प्रकाश बहादुर गोले र रुद्रमान गोले रहेका छन्।
वैदेशिक रोजगार विभागका कर्मचारी अधिकारीले कसको शव कहिले आउँछ भन्नेबारे ती गिरोहका व्यक्तिहरूलाई जानकारी दिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
मृतक व्यक्तिहरूको नागरिकता, राहदानी,जन्मदर्ता,मृत्युदर्ता,वडा कार्यालयको सिफारिस,बीमा कम्पनीको लेटरप्याडलगायत महत्वपूर्ण कागजातहरूसहित पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
रोजगारीका सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सो गिरोहले केही व्यक्तिहरू शव आउने स्थल कार्गो कार्यालय आसपास बसेर निगरानी गरी उक्त स्थानमा आउने पीडितसँग हामी बीमा कम्पनीबाट आएको प्रतिनिधि हौं भनी पीडितसँग सम्पर्क राख्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरूले काम सम्पन्न भएपछि ४० देखि ५० हजार रकमसम्म दिने गरेको र बाँकी रकम गिरोहका मु्ख्य व्यक्तिहरू मिलेर खाने गरेको पाइएको छ।
प्रतिक्रिया दिनुहोस !
