उपभोक्ता समितिमा भागबन्डा नमिल्दा सडक निर्माण अलपत्र

उपभोक्ता समितिमा भागबन्डा नमिल्दा सडक निर्माण अलपत्र
विवादका कारण निर्माण हुन नसकेको खिड्कीजिउँलादेखि पीपलकोट सडक। हिक्मतबहादुर नेपाली
सुन्नुहोस्

दैलेख : जिल्लाको आठबिस नगरपालिका–५ पीपलकोटसम्म पुग्ने भरपर्दो सडक छैन। जिल्लाकै विकट यो गाउँमा खाद्यान्न तथा भौतिक पूर्वाधार निर्माणका लागि सामग्री ढुवानी गर्न समस्या छ। स्थानीय बासिन्दाहरू आवतजावतमा सास्ती खेपिरहेका छन्। 

तर, सडक निर्माणको लागि विनियोजन बजेट भने कार्यान्वयन हुन सकेको छैन्। कर्णाली राजमार्गमा पर्ने ड्कीजिउँलादेखि पीपलकोट वडा कार्यालय जोड्ने सडक निर्माण योजना अलपत्र परेको छ। उपभोक्ता समितिमा दलहरूले भागबन्डा खोज्दा सडक निर्माणको काम हुन नसकेको हो। 

स्थानीय नैनबहादुर शाहीले दलहरूबीच उपभोक्ता समिति गठनमा विवाद हुँदा पछिल्लो १० महिनादेखि सडक निर्माणको काम सुरु हुन नसकेको बताए। ‘सडक निर्माण तथा मर्मतको काम गत कात्तिकमा सकिसक्नुपर्ने थियो, विवादकै कारण कामै हुन सकेन, पुनः म्याद थप भएको छ, अहिले उपभोक्ता समिति गठनमै विवाद भइरहेको छ,’ उनले भने।

सडक बोर्ड र आठबिस नगरपालिकाको साझेदारीसहित ४१ लाख रुपैयाँ लागतमा निर्माण हुनुपर्ने सडकको काम सुरु हुन नसकेको वडाध्यक्ष बजिरसिंह विकले बताए। विगत १० महिनादेखि उपभोक्ता समिति गठनमै रुमल्लिएको उनको भनाइ छ। 

‘गत फागुन १२ गते मेरो अध्यक्षतामा आम भेला बोलाएर उपभोक्ता समिति गठन गरिएको थियो, एमालेले विवाद झिकेपछि नगरले सम्झौता गरिदिएको छैन्,’ उनले भने। भेलाले छवि कामी अध्यक्ष रहेको समिति गठन गरेको थियो। 

वडाबाट सबै प्रक्रिया पुर्‍याएर सम्झौताका लागि नगरमा गइसकेको भए पनि एमालेबाट पार्टीले सिफारिस गरेको व्यक्तिलाई समितिमा राख्नुपर्ने भन्दै विवाद झिकेको वडाध्यक्ष विकको भनाइ छ। 

पीपलकोटसम्म सडक निर्माण नहुँदा स्थानीय दीप माविको भवन निर्माणमा समेत असर परेको छ। विद्यालयको चारकोठे भवन निर्माणको लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। ‘विद्यालय भवन निर्माण असारमा सम्पन्न गरिसक्नुपर्नेछ’ वडाध्यक्ष विकले भने। ‘सडक निर्माण नहुँदा सामग्री ढुवानी हुन सकेको छैन्, भवन निर्माण पनि अलपत्र छ।’

नगरप्रमुख तर्कबहादुर बडुवालले सडक निर्माणका लागि विवादरहित उपभोक्ता समिति गठन गरेर आउन आग्रह गरेको बताए। ‘सडक निर्माणको काम छिटो सुरु हुनुपर्छ भन्नेमा नगरपालिकाले चासो दिइरहेको छ, समिति गठनमै विवाद हुँदा सडक निर्माणको काम गुणस्तरीय र दिगो हुँदैन त्यसैले वडाका अगुवाहरू बसेर विवादरहित समिति गठन गर्न भनेका छौं’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.