बादी बालबालिकाको आश्रयस्थल संकटमा

बादी बालबालिकाको आश्रयस्थल संकटमा
सुन्नुहोस्

उनलाई सूर्योदय बोर्डिङ स्कुलले निःशुल्क पढाएको छ। बन्दना जस्तै दैलेखको महाबु गाउँपालिकाकी १७ वर्षीया शिखा बादी पनि मञ्चकै आश्रयमा छिन्।

दैलेख : जाजरकोटको भेरीगंगा नगरपालिकाकी १० वर्षीया बन्दना बादी प्रदेश राजधानी वीरेन्द्रनगरमा बस्छिन्। परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनले पढाइबाट बञ्चित हुनुपरेको थियो। बन्दनालाई बादी सरोकार मञ्च नेपाल सुर्खेतले आश्रय दिएको छ। 

उनलाई सूर्योदय बोर्डिङ स्कुलले निःशुल्क पढाएको छ। बन्दना जस्तै दैलेखको महाबु गाउँपालिकाकी १७ वर्षीया शिखा बादी पनि मञ्चकै आश्रयमा छिन्। उनको पालनपोषणसहित अभिभावकीय जिम्मेवारी मञ्चले लिएको छ भने सूर्योदय बोर्डिङ स्कुलले निःशुल्क पढाइरहेको छ। उनी व्यवस्थापन संकायमा अध्ययनरत छिन्। 

बन्दना र शिखाजस्तै एक सय १० जनालाई मञ्चले आश्रय दिइरहेको छ। यहाँ ६ देखि १९ वर्षसम्मका बादी समुदायका बालबालिका तथा किशोर–किशोरीहरू छन्। ०७३ सालमा  स्थापना भएको मञ्चमा सुरुमा ३८ बालबालिका थिए। सुकुम्बासी जीवन बिताइरहेका, आर्थिक अवस्था कमजोर रहेका बादी समुदायका बालबालिकालाई शिक्षाको पहुँच पुर्‍याएर सक्षम बनाउने उद्देश्यले मञ्च स्थापना भएको हो।

दैलेख, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, अछाम, कैलाली र दाङका बालबालिका र किशोरकिशोरीलाई आश्रय दिईरहेको मञ्च अभावैअभावमा गाँजिएको छ।  उनीहरूको पालनपोषणका लागि खर्च जुटाउनै सकस भइरहेको मञ्चका अध्यक्ष हिक्मतबहादुर बादीले बताए। 

मञ्चमा खाद्यान्नको जोहो गर्न हम्मेहम्मे परिरहेको उनको भनाइ छ। ‘मैले बादी समुदायको अधिकारको सवालमा काम गर्न थालेको ११ वर्ष भयो, पहिला बादी समुदायका बालबालिकाहरूलाई काठमाडौं लगेर पढाउने गरेको थिएँ, त्यहाँ बालिकाहरू यौन शोषणमा पर्ने गरेको घटनापछि सुर्खेतमा बादी सरोकार मञ्च स्थापना गरेका हौं,’ उनले भने। 

मञ्चमा रहेका बालबालिका र किशोरकिशोरीलाई सुर्खेतका विभिन्न निजी विद्यालयहरूले निःशुल्क पढाइरहेका छन्। ‘हाम्रो आग्रहमा सुर्खेतमा रहेका सूर्योदय, सिद्धपाइला, अरनिको, चिल्ड्रेन प्याराडाइज, उसा बालवाटिका मावि, साउथ एसियन स्कालर्स, मोडल कलेज, इलाइट बोर्डिङ, मर्निङस्टार स्कुल लगाएतका नीजि विद्यालयले बालबालिका र किशोरकिशोरीलाई निःशुल्क शिक्षा दिइरहनुभएको’ अध्यक्ष बादीले भने। 

मञ्चको आश्रयमै रहेर पढेका १८ जनाले एसईई उत्र्तीण गरिसकेका छन्।  निजी विद्यालयहरूले निःशुल्क शिक्षा दिए पनि बालबालिकाहरूका लागि खाद्यान्न, लत्ताकपडा, बालबालिका र किशोर–किशोरीका लागि विद्यालय पोषाक, स्टेसनरी, कापी किताब व्यवस्थापनमा समस्या भइरहेको उनले बताए। 

बालबालिकाहरूलाई राख्न मञ्चले वीरेन्द्रनगर–१० मा छात्रछात्राको लागि छुट्टाछुट्टै भवन भाडामा लिएको छ। छात्रा बस्ने भवनको मासिक ६० हजार र छात्र बस्ने भवनको ४० हजार रुपैयाँ घरभाडा छ। विद्युत् र पानीको शुल्कसहित मासिक १ लाख ३० हजारसम्म खर्च लाग्छ। घरभाडा, खाद्यान्न, लत्ताकपडा, स्टेसनरीसहित मासिक ६ देखि ७ लाखसम्म खर्च जुटाउन सकस भइरहेको उनको भनाइ छ।

बाल रोग विशेषज्ञ डा. नवराज केसीले वार्षिक तीन लाख रुपैयाँ सहयोग गरिरहेका छन्। उनले मञ्चको आश्रयमा रहेका बालबालिकाहरूको निःशुल्क उपचार गर्ने गरेका छन्। लव एन्ड होप नेपालका अध्यक्ष शम्भु शंकरले निरन्तर सहयोग गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.