किन गरिन् वीरगन्ज नर्सिङ क्याम्पस प्रमुखले छात्रामाथि हातपात ?

किन गरिन् वीरगन्ज नर्सिङ क्याम्पस प्रमुखले छात्रामाथि हातपात ?
वीरगन्ज नर्सिङ क्याम्पस ।

वीरगन्ज  : वीरगन्ज- ४ विर्तास्थित वीरगन्ज नर्सिङ क्याम्पसकी छात्रालाई क्याम्पस प्रमुख जमुना भट्टराईले गालीगलौज गर्दै हातपात समेत गरेकी छन् ।  क्याम्पस प्रमुख जमुना भट्टराईले छात्रालाई गालीगलौज र हातपात गरेको भीडीयो सामाजिक सञ्‍जालमा भाइरल भएको छ । उक्त भीडीयोमा आक्रोशित हुँदै क्याम्पस प्रमुख भट्टराईले छात्रालाई गमला उठाएर हान्न खोजेको ,केहि छात्रालाई हातले हिर्काएको र तथानाम गाली गलौज गरेको दृश्य देखिन्छ । 

चैत ५ मा भएको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघले क्याम्पस प्रमुखको कार्याकक्षमा चैत ६ गते तालाबन्दी गरेको थियो । सोही विषयलाई लिएर आइतबार राति क्याम्पस प्रमुख भट्टराईले नेविसंघ समर्थित छात्रालाई गाली बेइज्जत गर्दै हातपात पनि गरेको नेविसंघकी क्याम्पस इकाइ सभापति सविना सुनारले बताइन् । 

सुनारका अनुसार ,क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा नेविसंघले लगाएको ताल्चा आइतबार राति क्याम्पस प्रमुख भट्टराईले जबरजस्ती तोड्नुका साथै टाँसेको विज्ञप्ति पनि च्यातेर फालेपछि नेविसंघ समर्थित छात्राले प्रतिवाद गरेका थिए । त्यहि क्रममा क्याम्पस प्रमुख भट्टराइले उग्रशैलीमा तथानाम गालीगलौज गर्दै आफूमाथि हातपात गरेको सुनारले बताइन् । 

क्याम्पस प्रमुखले गरेको दुर्व्यवहारको भीडीयो देखाउँदै सुनारले भनिन्,‘हामीले लगाएको ताल्चा राति हामीसँग कुनै छलफल नै नगरी क्याम्पस चिफले तोडेको थाहा पाएपछि त्यसबारे बुझ्न हामी गयौं ,तर उहाँले उल्टै म मेरो पावर अब देखाइदिन्छु ,तिमीहरूले जे गर्न सक्छौं गर ,जाउ पत्रिकामा छपाइदेउ भन्दै हामीमाथि झम्टिनुभयो ,म समेत ४/५ जना माथि हातपात पनि गर्नुभयो ,फूलको गमला नै हामीतिरै ताकेर हान्न थालेपछि भागाभाग भयो । '

आइतबार राति क्याम्पस प्रमुख भट्टराइले छात्रासँग गरेको हातपात र दुव्र्यवहारको घटनाले आफूहरू क्याम्पस र होस्टेलभित्र असुरक्षित भएपछि सुरक्षाको माग गर्दै  राति नै वडा प्रहरी कार्यालय विर्तामा गएर क्याम्पस प्रमुख भट्टराईविरुद्ध उजुरी दिएको सुनारले बताइन् । 

सुनारले भनिन्,'क्याम्पस चिफका कारण हामी असुरक्षित भएका छौं,आइतबार राति हामीसँग जुन अमानवीय व्यवहार भयो यसले हामी निक्कै डराएका छौं । '

चैत ५ मा भएको स्ववियु निर्वाचनमा एमाले समर्थित क्याम्पस प्रमुख भट्टराइले अनेरास्ववियुका उम्मेदवारलाई जिताउन मौनअवधीमा रातिराति होस्टेलभित्र छिरेर विद्यार्थीलाई अनेक धाकधम्की दिएको नेविसंघ समर्थित विद्यार्थीको आरोप छ।

चैतमा ५ मा नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सभापतिसहित सबै पदमा अनेरास्ववियुकै उम्मेदवार विजयी भएका थिए । चुनावको नतिजा आएको भोलिपल्टै बिहान चैत ६ गते नेविसंघ इकाइ समितिले निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले एमालेको कार्यकर्ताका रुपमा खटेर धाँधली गरेकाले उनको राजीनामा माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । 

त्यहि ताल्चा आइतबार राति बाहिरबाट पनि केहि मान्छे बोलाएर क्याम्पस प्रमुख भट्टराइले तोडेपछि त्यसको प्रतिवाद गर्दा आफूहरूमाथि हातपात गर्नुका साथै गालीगलौज गरी दुर्व्यवहार गरिएको नेविसंघकी इकाइ सभापति सुनारले बताइन् । 

यता क्याम्पस प्रमुख भट्टराईले भने आइतबार राति आफूले विद्यार्थीमाथि हातपात नगरेको प्रतिक्रिया दिइन् । उनले भनिन्,‘यो कुनै ठूलो कुरा होइन,सम्झाउँदा नमानेपछि अलि ठूलो स्वरमा बोलदिएको मात्रै हो , अत्ति नै भएपछि विद्यार्थीहरूलाई अनुसासनमा ल्याउन त्यसो गरेकी हुँ । '

परीक्षाका बेला तालाबन्दी नगर भनेर आग्रह गर्दा विद्यार्थीहरूले नमानेपछि स्थिति केहि असमान्य बन्न पुगेको उनले स्वीकारिन्। तर, नेविसंघकी इकाइ सभापति सुनारले भने आफूहरूले चैत ६ मा प्रशासनिक भवन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपनि परीक्षाकै कारण प्रशासनिक भवनको तालाबन्दी यसअघि नै खोलिदिएको बताइन् । 

अहिले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्रै तालाबन्दी जारी रहेको र यसले क्याम्पसको पठपाठन ,अन्य सेवा र परीक्षा सञ्चालनमा कुनै समस्या नभएको उनले बताइन् । सुनारले भनिन्,‘ हामीले गरेको तालाबन्दीले परीक्षा सञ्‍चालन वा अन्य सेवामा कुनै असर परेको छैन ,अहिले पिसिएल र बिएन तेस्रो वर्षको परीक्षा निवर्धा रुपमा चलिरहेकै छ,परीक्षामा कुनै असर परेको छैन । '

क्याम्पस प्रमुख भट्टराईले स्ववियु निर्वाचनकै बेलादेखि आफ्नो पदको गरिमा भुलेर एमालेको कार्यकर्ताजस्तै अनेरास्ववियुको इशारामा यी सब गलत हर्कत गरिरहेको उनको आरोप छ ।

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीले उजुरी दिएको बताए। सो भीडीयो पीडित छात्राहरूले आफूलाई पनि उपलब्ध गराएको जानकारी दिँदै शिवाकोटीले क्याम्पस प्रमुखलाई झिकाएर यसबारेमा छलफल गरिने बताए ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.