लागूऔषध सहित तीनजना युवक पक्राउ
महोत्तरी : लागूऔषधसहित पक्राउ परेका तीन जना युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ।
चितवनका २४ वर्षीय रोहित कार्की, मकवानपुरका २९ वर्षीय संजु खडका र २२ वर्षीय आशिष खड्कालाई महोत्तरी प्रहरीले सार्वजनिक गरेको हो।
उनीहरूको साथबाट प्रहरीले फेनरागन ५६ पिस, नरकिम ५२ पिस र डाईजोपाम ५७ पिस गरी १ सय ६५ पिस लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
आइतबार दिउँसो सम्सी गाउँपालिका ४ स्थित दशगजाक्षेत्रबाट प्रहरीको गस्ती टोलीले भारतको कन्हवाबाट खुल्ला चौरको बाटो प्रयोग गर्दै नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीप कुमार गिरीले जानकारी दिए।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।