कोरोना संक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गरिँदै
![कोरोना संक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गरिँदै](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_wEuV7adAk6_F4DJCabnwA.jpg)
परासी : कोरोना संक्रमण बढ्न थालेपछि नवलपरासीमा नियन्त्रणका लागि अभियान सञ्चालन गरिने भएको छ।
अभियान अन्तर्गत सीमा क्षेत्रमा उच्च सर्तकता र निगरानीका साथ एन्टिजेन परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि एन्टिजेन परीक्षण गरिने छ।
जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डीसीसीएमसी) को मंगलबार परासीमा बसेको बैठकले उच्च सर्तकतासहित एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो।
भारतलगायत विभिन्न देशमा कोभिड–१९ को नयाँ भेरिएन्ट संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सर्तकतासहित एन्टिजेन परीक्षणको व्यवस्था गर्न लागिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए।
नवलपरासी जिल्ला भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग सीमा जोडिएकाले यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ।
सीमा क्षेत्र र सबै स्थानीय तहमा आवश्यक जनशक्तिसहित केही दिनमा एन्टिजेन परीक्षण अभियान सञ्चालन गरिने छ।
जिल्लामा हाल २ हजार एन्टिजेन टेष्ट किट रहेको र अपुग भएमा मगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए।
सार्वजनिक यातायात र बढी भीडभाड हुने सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा मास्क लगाउन र सेनिटाइजरको प्रयोगलाई अनिवार्य गराइने छ।
नेपालमै पहिलो पूर्ण खोप जिल्ला घोषणा गर्ने नवलपरासी भएकाले संक्रमण फैलिन नदिन उच्च सर्तकता सहितको अभियानलाई प्रभावकारी बनाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो पटक जिल्लामा भने कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन्।
हालसम्म जिल्लामा कोभिड–१९ बाट २०९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कोभिड–१९ विरुद्ध सञ्चालन गरिएको खोपमध्ये पहिलो र दोस्रो श्रृङखलाको खोप लगाउनेको संख्या एक सय प्रतिशत छ। त्यसैगरी पहिलो बुस्टर लगाउने ५४ प्रतिशत छ।
दोस्रो बुस्टरका रूपमा अहिले सञ्चालन गरिएको बायोभ्यालेन्ट खोप लगाउनेको संख्या ५ प्रतिशत मात्र रहेको छ। बायोभ्यालेन्ट खोप जुनसुकै खोप लगाएकाहरूले पनि लगाउन सक्ने छन्।
अहिलेसम्म कुनै पनि खोप नलाएकाहरूले भेरोसेल खोप लगाउन सक्ने छन्। ती दुवै खोप स्थानीय तहहरूमा गएर लगाउन सकिने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)