जो हातले भित्तेपात्रो कोर्थे ....

जो हातले भित्तेपात्रो कोर्थे ....
अमरबहादुर सुनार
सुन्नुहोस्

दैलेख : दायाँतर्फ दैलेखको बडलम्जीस्थित ऐतिहासिक कलात्मक पञ्चदेवल। बायाँतर्फ दैलेखकै पञ्चकोसी तीर्थस्थलमध्येको श्रीस्थान मन्दिरभित्र सदिऔंदेखि बलिरहेको ज्वाला। चन्द्र र सूर्य अंकित हिमाल, अनि नेपालको झन्डा। सुन्दर अक्षरले शिरमा लेखिएको छ, ‘नेपाल भ्रमण वर्ष १९९८’ लाई सफल पारौं।’ त्यसकै तलपट्टी नववर्ष २०५५ सालको सुखद् उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। झट्ट हेर्दा वर्षौं पुरानो देखिने यो पाना हातले कोरेको भित्तेपात्रो हो। जसलाई दैलेखका अमरबहादुर सुनारले कोरेका हुन्।

यो भित्तेपात्रो २०५५ सालको हो। एउटै पेजमा बनाइएको पात्रोमा नेपाली र अंग्रेजी महिना, गते र बार छुट्याइएको छ। पात्रोको पुछारमा वर्षभरिको सार्वजनिक बिदाहरू लेखिएका छन्। त्यसबेला दैलेखको तत्कालीन जिविस, प्रहरी, प्रशासन, अदालत, त्रिभुवन माविलगायतका सरकारी कार्यालयमा पुग्ने यो हस्तलिखित पात्रोको पुछारमा यस कार्यालयको विशेष कार्यक्रम भनेर खाली छोडिएको छ। जहाँ सरकारी कार्यालयले वर्षभरिका विशेष कार्यक्रम समावेश गर्थे। वर्ष फेरिएपछि सरकारी मात्रै होइन, कैयौं व्यक्तिहरूको घरमा पनि उनै सुनारले तयार पारेको पात्रो फेरिन्थ्यो।

झन्डै तीन दशकदेखि पत्रकारिता र मानवअधिकारको क्षेत्रमा सक्रिय रहेका सुनारले २०४६ सालदेखि नै हातले कारेर पात्रो बनाउन सुरु गरेका थिए। उनले २०४६ देखि २०५६ सालसम्म हातले कोरेर पात्रो निर्माण गरे। बाँस काटेर बनाएको कलम मसिमा चोपेर लेखिन्थ्यो, भित्तोपात्रो बन्थ्यो। बाँसको कलम बनाएर लेख्दा अक्षर पनि राम्रो हुन्थ्यो। 

‘म ०४६ मा ९ कक्षामा पढ्दै थिएँ, ध्रुवनारायण चौधरी कृषि विकास कार्यालयको तत्कालीन प्रमुख हुनुहुन्थ्यो, उहाँको क्वाटर र मेरो डेरासँगै थियो, उहाँले हातले ड्रोइङ गरेर बनाएको क्यालेन्डर देखेँ, त्यसपछि मैले पनि बनाउनु सुरु गरेको हुँ। मेरो अक्षर पनि उहाँले मन पराउनुभयो,’ सुनार भन्छन्, ‘मेरो अक्षर आकर्षक लागेर पनि होला, नयाँ वर्ष, दशैंजस्ता चार्डपर्वको शुभकामना लेखेर पठाउनु परे खाममा लेख्न मलाई लगाउनुहुन्थ्यो।’

त्यसबेला भित्तेपात्रोहरू अहिलेजस्तो सहजै पाइँदैनथ्यो। वन कार्यालयले वन समितिहरूलाई भित्तेपात्रो पठाउँथ्यो। जिल्लाका केही अगुवाहरू, गाउँका प्रधानपञ्चहरूसँग मात्रै पात्रो हुन्थ्यो। ‘पात्रो बनाउनलाई फागुनमै पञ्चांग पात्रो ल्याउनुपथ्र्यो, त्यसकै आधारमा हातले भित्तेपात्रो कार्थे,’ उनी सम्झन्छ्, ‘अहिले सरकारले बीचबीचमा निर्णय गरेर बिदा दिन्छ, अव्यवस्थित छ। त्यतिबेला त्यसो हुँदैनथ्यो, वर्षभरिको सार्वजनिक बिदा 
पहिले नै तय हुन्थ्यो।’ 

सुनारले बनाएको पात्रोमा शनिबार र सार्वजनिक बिदा छुट्याउन रातो मसी प्रयोग हुन्थ्यो। कोही कसैलाई आवश्यक पर्छ भनेर अंग्रेजी तारेखलाई सानो अक्षरले लेख्थे उनी। ‘मैले तयार गरेको पात्रोमा कुनै पनि त्रुटि हुन्थेन्, सरकारी तथ्यांक पनि मिल्थ्यो, शुद्धता र आधिकारिकताकै कारण सबैले मैले बनाएको भित्तेपात्रोको मन पराउँथे, अपनत्व लिन्थे,’ उनी भन्छन्। एउटै ड्रइङसिटमा बनाएको क्यालेन्डर सबै कार्यालय र व्यक्तिहरूले वर्षभरि राख्थे।

उनले हातले ड्रोइङ गरेर बनाएको पात्रोमा शुद्धाशुद्धीमा त्रिभुवन माविका तत्कालीन प्रधानाध्यापक खगेन्द्र मल्लले सहयोग गर्थे। त्यो बेला जिल्लाका मुख्य–मुख्य कार्यालय र केही व्यक्तिहरूलाई पात्रो उपलब्ध गराउँथे, उनी। रेडियो नेपालको केन्द्रीय प्रशारणमा पनि पात्रो पठाउँथे। राम्रो अक्षर र भित्तेपात्रो बनाउने कलाकै कारण जिल्लाका सरकारी कार्यालयहरूले उनलाई नै सांगठनिक चार्ट बनाउन बोलाउँथे। ‘सरकारी कार्यालयको सांगठनिक संरचना लेख्नुपर्दा कार्यालयहरूले बोलाउँथे, धेरथोर पैसा पनि दिन्थे, मलाई पढाइमा पनि सहयोग पुग्थ्यो,’ उनी भन्छन्।

२०४७ मा एसएलसी दिएका सुनारले केही समय भारतमा काम गरेँ। ‘२०४७ मा एसएलसी दिएर भारत गएँ, त्यहाँ ६ महिना काम गरेर फर्किए, एसएलसी उत्तीर्ण भएपछि रोजगारी खोजेँ तर अबसर पाइन्,’ उनले भने। त्यसैबेला सुनारले दृष्टि, बुधबार पत्रिकालाई समाचार लेख्न थाले। २०५१ को मध्यावधी सरकारपछि सुनारले राससको जिल्ला संवाददाता भएर काम गर्ने अवसर पाएँ। त्यसबेला सुनारले रासस र स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा रेडियो नेपालमा काम गर्ने अवसर पाएका थिए। नियुक्तको हिसाबले २०५२ देखि औपचारिक रूपमा पत्रकारितामा संलग्न भएको सुनारको भनाइ छ। 
क्यालेन्डर (भित्तेपात्रो) बाटै पत्रकारितामा प्रवेश गराएको उनी बताउँछन्। राससमा आबद्ध भएको दोस्रो वर्ष देशभरकै उत्कृष्ठ संवाददाताको रूपमा पुरस्कृत भएका सुनार भन्छन्, ‘त्यो बेला अहिले जस्तो इमेल इन्टरनेट थिएन, आवाबाट समाचार पठाउनुपथ्र्यो, मासिक तीनदेखि चार हजारसम्म तलब पाइन्थ्यो।’

दैलेख जिल्लामा व्यक्तिगत रूपमा निजी कम्प्युटर चलाउने व्यक्ति उनै सुनार हुन्। ‘हुन त् २०५५ मा दैलेखमा एबीसी कम्प्युटर इन्स्टिच्युट सुरु भयो। सुनारले २०५६ मा कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञान त्यहीँबाट सिके। २०५७ मा सुनार आफैंले कम्प्युटर खरिद गरे। कम्प्युटर चलाउन थालेपछि हातले ड्रोइङ गरेर पात्रो बनाउनै छुटेको उनी बताउँछन्। ‘अहिले मसँग रहेको नमुना पात्रो २०५५ सालको हो,’ उनले भने, ‘त्यसबेला तत्कालीन सरकारले १९९८ लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने प्रश्ताव गरेको थियो।’ २०५६ मा हातले कारेको भित्तेपात्रो अन्तिम बनेको उनको भनाइ छ। ‘कम्प्युटर चलाउन थालेपछि सिर्जनशीलता हराएको महसुस हुन्छ,’ सुनार भन्छन्।

२०२७ चैत २४ गते हालको नारायण नगरपालिका ११ विन्ध्यवासिनीमा जन्मिएका सुनारले पत्रकारिता विषयमा एमए गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.