नेपाल कोकिनको ट्रान्जिट हब बनेको हो ?

नेपाल कोकिनको ट्रान्जिट हब बनेको हो ?
सुन्नुहोस्

ब्युरोका प्रवक्ता जोशीका अनुसार कोकिन तस्करी र सेवनमा समेत नेपाली नागरिकको संलग्नता छैन। नेपालको बाटो मात्रै प्रयोग गर्ने गरेको देखिन्छ।

काठमाडौं : ६३ वर्षीया केन्याकी नागरिक पिलिसिला वान्जा दिरितु १ केजी ८० ग्राम कोकिनसहित ठमेलबाट पक्राउ परिन्। नयाँ वर्षको दिन केन्या, इथियोपिया, दुबई हुँदै काठमाडौं ओर्लिएकी वान्जा विमानस्थलमा ओर्लनासाथ प्रहरीको नजरमा परिन्। विमानस्थलमा सुरक्षार्थ रहेको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई पछ्याउँदै ठमेलस्थित उनी बस्ने होटलसम्म पुगेको थियो। 

प्रहरी टोलीले उनी नेपालमा बसेर कहाँ के गर्छिन् र कसलाई भेट्छिन् सूक्ष्म निगरानी गरेको थियो। निगरानीको क्रममा इथियोपियाबाट वोकेर ल्याएको अवैध लागूऔषध कोकिन लिन आएका ५१ वर्षीय भारतीय नागरिक रवीन्द्रकुमार परासर पनि पक्राउ परे। 

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता चक्रराज जोशीका अनुसार करिब ५ दिनको सूक्ष्म निगरानीपछि वैशाख ५ गते उनीहरू ठमेलको बेग्लाबेग्लै होटलबाट पक्राउ परेका हुन्। जोशी भन्छन्, ‘अफ्रिकन मुलुकबाट नेपालको हवाईमार्ग हुँदै भारत पुर्‍याउन लागेको कोकिन नेपाल प्रहरीले काठमाडौंमा नै बरामद गरेको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरू दुवै जना निश्चित रकम प्राप्त गर्ने प्रलोभनमा कोकीन तस्करीमा लागेको देखिएको छ।’

प्रहरीका अनुसार ६३ वर्षीया केन्याली महिला पिलिसिया सामान्य नागरिक हुन्। वैवाहिक सम्बन्ध टुटेको अवस्थामा रहेकी उनी परिवारको जिम्मा उनकै काँधमा छ। छोराछोरी नातिनातिना पालनपोषण गर्न सामान्य काम गरिरहेकी उनलाई एकजना छिमेकीले इथियोपिया गएर एउटा सामान पुर्‍याउन भन्दै प्रलोभनमा पारेका थिए। कोकिन राखिएको उक्त झोला नेपाल पुर्‍याएवापत उनलाई ३ हजार अमेरिकी डलर दिने आश्वासन दिइएको रहेछ। सुरुमा नै एक हजार डलर हात परेपछि पिलिसिया केन्याबाट इथियोपिया पुगेर लेडिज ब्यागमा फल्स बटम बनाई कोकिन लिएर नेपाल आएकी हुन्। 

नेपाल आएपछि उनको भेट रवीन्द्र कुमारसँग हुन्छ। जो दिल्लीबाट सुनौली नाका हँुदै काठमाडांै आएका थिए। केन्याली महिलासँग कोकिन लिएर होटल चेकइन गर्ने बेलामा रवीन्द्रकुमार प्रहरी नियन्त्रणमा परेका हुन्।

प्रहरीका अनुसार दिल्लीमा गाडी चलाएर सामान्य दैनिकी बिताएका रवीन्द्रलाई तस्करको टोलीले नेपाल गएर सानो ब्याग लिएर आउनका लागि प्रलोभन दिएको थियो। यसका लागि उनलाई २० हजार भारतीय रूपैयाँ दिने आश्वासन दिइएको थियो। उक्त कोकिन दिल्ली पुर्‍याउनका लागि रवीन्द्र स्थलमार्गको नै प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। 

बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख २८ हजार रूपैयाँ बराबर पर्ने बताइएको छ। आरोपीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ। 

१० वर्षमा ६३ केजी बढी कोकिन बरामद

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार आव २०७० देखि २०८० वैशाखसम्म ६३ केजी ७ सय ६३ ग्राम कोकिन नेपाल प्रहरीले बरामद गरेको छ। कोकिन तस्करीमा संलग्न भएको आरोपमा ३४ विदेशीसहित १ नेपाली पक्राउ परेका छन्। लागूऔषध सेवन तथा ओसारपसार गर्न संसारभर गैरकानुनी छ। अवैध रूपमा बिक्री वितरण हुने कोकिन सबैभन्दा महँगो लागूऔषध मानिन्छ। 

कोकिन १ ग्रामको बजार मूल्य २१ हजार ६ सय रुपैयाँ छ। लागूऔषध ब्युरोका प्रवक्ता जोशीका अनुसार कोकिन एक प्रकारको कडा लागूऔषध हो। कोका प्रजातिको बिरुवाको पातलाई रासायनिक प्रशोधनद्वारा कोकिन तयार गरिन्छ। यसको सेवनले मानिसको मस्तिष्कलाई असर गर्छ। 

भिजिट भिसामा नेपाल आएर उनीहरूले कोकिनको कारोबार गरेको प्रहरी अनुसन्धानले देखाउँछ। प्रहरीका अनुसार कानुनतः १ सय ग्रामभन्दा धेरै कोकिन कारोबार गर्नेलाई १५ वर्षसम्म जन्मकैद हुने कानुनी व्यवस्था छ। पक्राउ परेका उनीहरूलाई २५ लाखसम्म जरिवाना हुनसक्ने प्रावधान छ।

नेपाल कोकिनको ट्रान्जिट हब बनेको हो ? 

पटक–पटक विदेशी नागरिकसहित नेपालमा कोकिन बरामद भएका घटना छन्। गत चैत १६ गते पनि १७ करोडको कोकिनसहित २ जना भारतीय महिला प्रक्राउ परेका थिए। अफ्रिकन देशबाट आएको लागूऔषध कोकिन भारत, चीनलगायतका देशमा पुर्‍याउनका लागि तस्करी गर्दे आएको देखिन्छ।

ब्युरोका प्रवक्ता जोशीका अनुसार कोकिन तस्करी र सेवनमा समेत नेपाली नागरिकको संलग्नता छैन। नेपालको बाटो मात्रै प्रयोग गर्ने गरेको देखिन्छ। यसलाई तोड्नका लागि प्रहरी सक्रियतापूर्वक लागेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.