अनलाइनमार्फत ठगी गर्ने गिरोह पक्राउ
जनकपुरधाम : धनुषा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ६ जनाको गिरोहलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी ठगी गर्ने गिरोह मध्येका ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा धनुषाको विदेह नगरपालिका १ बस्ने ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका ३ लग्मा बस्ने २५ वर्षीय रञ्जित नुनिया, जनकपुरधाम उप-महानगरपालिका १७ बस्ने ३३ वर्षीय अंदेश महतो, जनकपुरधाम उप-महानगरपालिका १६ बस्ने ३३ वर्षीय पप्पु पुर्वे, जनकपुरधाम उप-महानगरपालिका १२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहम्मद जिलानी साफी रहेका छन्।
गत बैशाख ८ गते साँझ करिब ५ बजे ४ जनालाई धनुषाको जनकनन्दनी गाउँपालिका ३ महुवाटोलबाट र दुई जनालाई जनकपुरधाम-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
पक्राउ परेका उनीहरूको साथबाट ६ थान एन्ड्रोइड मोबाइल र एकथान फिचर फोन गरी जम्मा ७ थान मोबाइल र नगद २९ हजार ५ सय ७६ रुपैयाँ बरामद गरी थप अनुसन्धान गर्दा उनीहरूले टलविन लाइफ नामक एक अमेरिकी संस्था मार्फत ठगी गरेको कुरा खुलेको एसपी खड्काले बताए।
उनीहरूले १ हजार ९१ जना पीडितहरूबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ४ हजार ५ सयका दरले ४९ लाख ९ हजार ५ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
एसपी खड्काले भने, ‘उनीहरूले टलविन लाइफमा खाता खोल्न इन्टरनेट ब्राउजरको प्रयोग गरी आफ्नो युजर एकाउण्ट खोल्न सकिने र सो एकाउण्ट खोल्न कम्तिमा ३० अमेरीकी डलर आवश्यक पर्ने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन दिएका थिए। टलविनको एकाउण्टमा पैसा लोड गर्न बाइनेन एप्लिकेशनको मद्दतबाट नेपाली पैसालाई अमेरीकी डलरमा रुपान्तर गरी टलविन लाइफको एकाउण्टमा पैसा लोड गर्न सकिने र टलविन लाइफको एकाउण्टबाट डबल पैसा बाइनेन एप्लिकेशनको एकाउण्टमा लोड गरेर नेपाली पैसामा रुपान्तरण गरी बैंक एकाउण्ट तथा विभिन्न अनलाइन वालेटमा हाल्न सकिन्छ भन्दै उनीहरूले ठगी गरेको देखिन्छ।’
उनीहरूले ४ हजार ५ सय अमेरिकी संस्था टलविन लाइफमा लगानी गर्दा ३ बर्षमा २ लाख १४ हजार रुपैयाँ पाउन सकिने र त्यसका अलवा टलविन लाइफ नामक संस्थामा आफू मार्फत प्रत्यक्ष सदस्य बनाएमा लगानीको ५० प्रतिशत कमिसन पाउने भनी ठगी गरेको र आफूले बनाएको सदस्यले थप सदस्य बनाउँदै जाँदा एक डलर आफ्नो खातामा आउने भनी ठगी गरेको एसपी खड्काले जानकारी दिए।
पक्राउ परेका उनीहरूलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !