१ महिनामै ३ प्रशासकीय अधिकृत, नगरपालिका नटेकी सरुवा

१ महिनामै ३ प्रशासकीय अधिकृत, नगरपालिका नटेकी सरुवा

पाख्रीबास नगरपालिकाका कर्मचारीले माघदेखि तलब पाएका छैनन्। नगरपालिकाभरिका शिक्षकले पनि तेस्रो त्रैमासिकबापतको तलब लिन पाएका छैनन्।

धनकुटा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैतमा एकै महिना तीन प्रमुख प्रशासकीय अधिकृतलाई पाख्रीबास नगरपालिकामा खटायो। तर, उनीहरू कोही पनि खटाइएको ठाउँमा आएनन्। बरु मन्त्रालयमै बसे। कसैले उताउतै अन्यन्त्र सरुवा मिलाए। 

सरकारले खटाएपछि प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्रमा आउनुपर्ने नगर उपप्रमुख नम्रता गौतम बताउँछिन्। ‘तर, किन आउन मान्नुहुन्न ? अचम्ममा परेकी छु’, उनी भन्छिन्, ‘नगरपालिकामा विवाद छ भनेर बाहिरी क्षेत्रमा हल्ला चलेको छ। तर, बाहिर चलेको हल्ला नगरपालिकामा छैन। यो अफवाह मात्रै हो।’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल गत फागुन ८ गते रमानापत्र लिँदै जिल्ला समन्वय समिति नुवाकोटमा सरुवा भएका थिए। त्यसपछि रिक्त ठाउँमा मन्त्रालयले नारायणप्रसाद भट्टराईलाई खटाएको थियो। तर, उनी पाख्रीबासमा पाइला नटेक्दै चैत १३ गते मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भए। 

सरकारले त्यसपछि चैत २० गते पर्वतको फलेवासमा कार्यरत नेत्रप्रसाद पौडेललाई सरुवा गर्‍यो। उनी पनि यता नआई मन्त्रालयबाट अन्यत्र सरुवा भए। मन्त्रालयले चैत २७ गते उदयपुरको त्रियुगामा कार्यरत सञ्जयबहादुर राजलवटलाई यता सरुवा गर्‍यो। उनी पनि पाख्रीबास नआई मन्त्रालयतिर गए। 

मन्त्रालयले पठाउने तर माथि–माथि मिलाएर अन्यत्र जाने गर्नाले पाख्रिवास फागुन पहिलो सातादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। जसकारण स्थानीय सरकारका अधिकांश काम ठप्प भएका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोर्खबहादुर तामाङले सम्हालिरहे पनि उनले दैनिक प्रशासनका काम मात्रै गरिरहेका छन्। प्रमुख प्रशासकीय नहुँदा जति हुनुपर्ने हो त्यति काम हुन नसकेको उपप्रमुख गौतमको भनाइ छ।

माथि–माथि सरुवा मिलाएका कर्मचारी 

  •     नारायणप्रसाद भट्टराई
  •     नेत्रप्रसाद पौडेल
  •     सञ्जयबहादुर राजलवट

लेखापाल मातृका धितालका अनुसार चालू आर्थिक वर्षमा गरिने कतिपय ठेक्काको काम खुलेका छैनन्। ठेक्का स्वीकृत भए पनि सम्झौता हुन सकेको छैन। उपभोक्ता समितिमार्फत हुने कामको लागत स्टिमेटको सम्झौता भएको छैन। आर्थिक अधिकारसहितको निमित्त नहुँदा दैनिक प्रशासनिक कामबाहेक केही काम हुन सकेको छैन। 

यहाँका कर्मचारीले माघदेखि तलब पाएका छैनन्। नगरपालिकाभरिका शिक्षकले पनि तेस्रो त्रैमासिकबापतको तलब लिन पाएका छैनन्। 

नगर प्रमुख ज्ञानबहादुर गुरुङ प्रमुख प्रशासकीय अधिकृत ल्याउन काठमाडौंमा छन्। उनी दिनहुँ नगरपालिकाका लागि हाकिम खोज्दै मन्त्रालयमा धाइरहेका छन्। नगरपालिकाका लागि हाकिम नल्याई धनकुटा नआउने गुरुङले बताए। नगरपालिकाको अन्य विषयमा भने उनी बोल्न चाहेनन्।

गुरुङले चैत ९ गते नगरपालिकाको १४ औं बैठक डाकेका थिए। तर, प्रमुख प्रशासकीय अधिकृतबिना बैठकमा सहभागी नहुने भन्दै कार्यपालिका सदस्यले भनेपछि बैठक रोकिएको थियो। गुरुङ कांग्रेसबाट नगर प्रमुख निर्वाचित भएका हुन्। उपप्रमुखमा एमालेबाट नम्रता गौतम विजयी भएकी हुन्। नगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत छ। कांग्रेससहितको गठबन्धन अल्पमतमा छ।

कार्यपालिकाका अधिकांश बैठक जनप्रतिनिधिबीच हुने मतभेदले स्थगित भइरहेका छन्। राजनीतिक विचारको आडमा जनप्रतिनिधिबीच मतभेद हुँदा नगरपालिकाको काममा बाधा पुगेको स्थानीय बासिन्दाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.