अमलेखगञ्जमा खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
![अमलेखगञ्जमा खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Dkz5Z1Iwmj_0ISaNXwcco.jpg)
वीरगन्ज : बाराको अमलेखगञ्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीले २ सय ग्राम खैरो हेरोइनसहित भारतको उत्तर प्रदेशको गोरखपुरका ६० वर्षीय सन्तोष त्रिपाठीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना १ ज २०८६ नम्बरको टाटा सुमो प्रहरीले अमलेखगञ्जमा रोकेर चेकजाँच गरेको थियो। त्यस क्रममा उक्त टाटा सुमोमा सवार त्रिपाठीको शरीर खानतलासी गर्दा उनले दुवै खुट्टामा लुकाएर राखेको २/२ पोकामा रहेको २ सय ग्राम खैरो हेरोइन बरामद भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
उक्त टाटा सुमो र त्यसका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बोगटीले बताए। चालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
त्रिपाठी र टाटा सुमोका चालकलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)