सरकारमा सहभागी हुने कि समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न रास्वपाको बैठक सुरू
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धारामा बैठक सुरू भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
रास्वपाको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा जाने नजाने विषयमा निर्णय गर्नेछ। प्रधानमन्त्री प्रचण्डले यसअघि नै रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए। सभापति लामिछानेले पुरानै मन्त्रालय पाएमात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए। लामिछानेको प्रस्तावमा प्रचण्ड सकारात्मक देखिएको बालुवाटार स्रोतले बताएको थियो। यद्यपि नेकपा एमालेसँग नयाँ गठबन्धन बनाउने तयारी पनि लामिछानेले गरिरहेको स्रोतको भनाइ छ।
आजको केन्द्रीय समिति बैठकले यिनै महत्वपूर्ण विषयमा निर्णय गर्ने सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। 'अहिले सरकारलाई समर्थन गरेका छौं। समर्थन गरेपछि सरकारमा जाने कि समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने विषय नै बैठकको मुख्य एजेण्डा हो,' ती सदस्यले अन्नपूर्णसँग भने।
प्रतिक्रिया दिनुहोस !