विशिष्टीकृत बाल अस्पताल

विशिष्टीकृत बाल अस्पताल
सुन्नुहोस्

सरकारी जागिरपछि अधिकांशको योजना हुन्छ, ‘सेवा निवृत्त (अवकाश) को जीवन घुम्ने, रमाउने। घरमै आराम गर्ने। परिवारलाई समय दिने।’ 

तर, सरकारी अस्पतालमा  सेवा गरेरै कपाल फुलाएका प्रा.डा. भगवान कोरालाको योजना फरक छ। ६२ वर्षीय कोइराला आगामी वर्ष अवकाश पाउँदै छन्। रिटायर्ड भए पनि टायर्ड देखिँदैनन्। प्रौढ उमेरमा पनि  युवाको झैं लगाव छ। जिम्मेवारीबोध गर्दै  डा. कोइराला भन्छन्,‘ गुणस्तरीय स्वास्थ्य सेवाको हकदार बालबालिका हुन्।  बाल स्वास्थ्यको क्षेत्रमा धेरै गर्नुपर्ने छ।’ 

डा. कोइरालाको विशेष चासोको क्षेत्र हो, बालबालिकाको स्वास्थ्य, त्यसमा पनि मुटु स्वास्थ्य। त्यसैले विशिष्टीकृत बाल अस्पताल निर्माण गरी सेवा प्रवाहको हुटहुटी छ। 

काठमाडौंमा एक बहुविशेषज्ञ सेवासहितको स्तरीय बाल अस्पताल निर्माणकार्य अघि बढिसकेको छ। जहाँबाट बाल मुटु मात्र नभएर अन्य स्वास्थ्य सेवा पनि प्रवाह हुने छ। बाँकी ६ प्रदेशमा पनि एकएक वटा विशिष्टीकृत बाल अस्पताल निर्माण योजना छ। 
यी सबै काम गर्न  गैरनाफामूलक संस्था  काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) दर्ता गरिएको छ। 

किओचका संस्थापक डा. कोइराला गैरनाफामूलक क्षेत्रबाट काम गर्न सके करिब डेढ करोड बालबालिकाको स्वास्थ्यमा उल्लेख्य सहयोग पुग्ने बताउँछन्। मुलुकका सातै प्रदेशमा अस्पताल निर्माणको खाकालाई मूर्तरूप दिन सक्रिय देखिन्छन्। त्यसका लागि दुई अर्बभन्दा बढी लगानी लाग्ने अनुमान छ। 

मुलुकमा एक मात्र कान्ति बाल अस्पताल छ। काठमाडौंमा रहेको यो सरकारी बाल अस्पताललाई बिरामी हेर्न भ्याइनभ्याइँ छ। किओचका सल्लाहकारसमेत रहेका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमा भन्छन्,‘ सरकारको मात्र मुख ताकेर हुँदैन। जसले जुन ठाउँबाट सकिन्छ, त्यहींबाट योगदान दिनुपर्छ।’

डा. कोइरालाको होस्टेमा हैसैं गर्दै विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति जोडिएका छन्।  वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र  गौतम,  पूर्वराजदूत भेषबहादुर थापा, गायिका आनि छोइङ , चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)का पूर्वडिन डा. रमेशकान्त अधिकारीलगायतका लब्धप्रतिष्ठित व्यक्तिहरू सल्लाहकार  एवं बोर्डमा छन्। 

भाडामा जग्गा लिएर भवन

भनिन्छ, एक थुकी सुकी, सय थुकी नदी। एक्लै इच्छा चाहनाले मात्र लक्ष्यमा पुग्न सकिँदैन। ‘ राष्ट्रिय महत्वको विषय हो, यो’ डा. कोइराला भन्छन्, ‘सबैको सहयोग साझेदारी र सद्भाव चाहिन्छ।’ 

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केन्द्रीय अस्पताल भवन निर्माणकार्य सुरु भइसकेको छ। काठमाडौंको बूढानीलकण्ठ–७, गोल्फुटार हेपाली हाइटमा सरकारबाट जग्गा  लिजमा लिइएको छ। ३० वर्षको लागि झन्डै ४२ रोपनी जग्गा भाडामा लिइएको हो। 

२३ मंसिर २०७९ मा जग पूजा गरी भवन निर्माण कार्य अघि बढाइएको छ। पहिलो चरणमा एक सय शय्याको  अस्पताल निर्माण हुनेछ।  किओचका अध्यक्ष डा. कोइरालाका अनुसार दुई चरणमा गरेर दुई सय शय्या निर्माण हुनेछ। 
त्यस्तै, कोसी प्रदेशमा किओच दमक बाल अस्पताल सञ्चालनमा आइसकेको  छ। दमक-७ स्थित निर्माण भएको अस्पतालको उद्घाटन बाँकी छ। 

गण्डकी प्रदेशको पोखरामा पनि अस्पताल निर्माणको लक्ष्य छ। बाल अस्पताल सञ्चालन गर्न पोखरा महानगरपालिका र किओचबीच गत फागुनमा सम्झौता पनि भइसकेको छ। पोखरा महानगरले ३७ रोपनी जग्गा बाल अस्पतालका लागि ३० वर्षसम्म निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। 

अस्पताल बनेपछि समग्र गण्डकी प्रदेशकै बालबालिकाका लागि उपचारमा सहज हुने अपेक्षा गरिएको छ। अस्पताल निर्माणमा ४० देखि ५० करोडसम्म लागत अनुमान गरिएको छ। ५० शड्ढयाबाट सुरु गर्ने र पछि सय शड्ढया पुर्‍याइने लक्ष्य छ। 

अन्य प्रदेशमा पनि विशिष्टीकृत बाल अस्पताल बनाउने योजना क्रमिक रूपमा अघि बढ्दै छ। आगामी सात वर्षभित्र सात वटै प्रदेशमा अस्पताल निर्माण गरिसक्ने लक्ष्य लिइएको डा. कोइरालाले जानकारी दिए। 

अस्पताल निर्माणमा संघीय, प्रदेश  र स्थानीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्।  उदार संस्था र मनकारी व्यक्तिले पनि सहयोग गरिरहेका छन्। केही प्रमुख दाताहरूलाई सूचीबद्ध गरिएको छ। सबैको सामूहिक लक्ष्य छ, ‘किफायती ढंगले एकीकृत रूपमा  बहुविशेषता र उच्च गुणस्तरीय बाल स्वास्थ्य सेवा प्राप्त होओस्।  बालबालिकाको जीवनको गुणस्तरमा सुधार आओस्।’ 

सरकारको मात्रै मुख नताकौं 

शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो। विभिन्न संस्था र व्यक्तिहरूले राज्यको मुख नताकी गरिरहेको सहयोगमा  डा. कोइराला खुसी छन्। 

मुलुकका झन्डै ४० प्रतिशत बालबालिका १८ वर्षमुनिका छन्। मुलुकभरका अस्पतालले तीन हजारभन्दा थोरै शय्या छुट्ट्याएका छन्। जुन अपर्याप्त छ। मुलुकका पहिलो ओपन हर्ट सर्जन डा.कोइरालाले करिब १४ हजार मुटुको शल्यक्रिया गरिसकेका छन्। अबको उनले  बालबालिकाको स्वास्थ्य सेवामा  समर्पित गर्दैछन्। 

हालै प्रकाशित हृदय पुस्तकबाट प्राप्त हुने लेखकस्वको ५० प्रतिशत अस्पताल निर्माण अभियानलाई दिएका छन्। ‘आजका स्वस्थ र शिक्षित बालबालिकाले नै भोलि मुलुक हाँक्ने हुन्,’ जापानका पूर्वराजदूत माथेमा भन्छन, ‘स्वास्थ्य, शिक्षालगायतका अन्य विभिन्न  क्षेत्रबाट मुलुकलाई योगदान गर्न डा. कोइरालाजस्तै जुझारु व्यक्तिहरूको खाँचो छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.