सुरु भएन सगरमाथा आरोहण, प्रतिकूल मौसमले चुनौती
ओखलढुंगा : प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण हुन सकेको छैन। आधार शिविरमा पुगेका आरोही अनुकूल मौसमको पर्खाइमा छन्।
मौसममा आएको खरावीले हिमाल आरोहण जोखिम बन्दै गएको पर्यटन व्यवसायी तथा आरोही पेम्वा शेर्पा बताउँछन्। अग्ला हिमाल त्यसमा पनि सगरमाथा आरोहणका लागि अहिले मौसमले समस्या पारेको उनले बताए। पश्चिमी वायुको प्रभावले एक सातादेखि बिग्रिएको मौसममा सुधार आएपनि आरोहणको मुखैमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा भने सुधार आएको छैन।
सगरमाथा क्षेत्रमा घाम लागेको देखिएपनि अत्याधिक गतिमा चलेको हावाका कारण बाटो बनाउने काममै अवरोध भएको छ। आरोहण अनिश्चित भएपछि केही आरोही काठमाण्डौ फर्किएका छन् भने केही सगरमाथा आधार शिविरमा छन्।
जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार हुँदै गइरहेको बताएपनि सगरमााथाको उचाइमा हावाका कारण समस्या ल्याएको छ। प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन हुँदा डोरी टाँग्ने काम समेत प्रभावित भएको छ। सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउन इमेजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जिम्मा पाएको छ। 
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो। नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही अनकूल मौसमको पर्खाइमा छन्। आरोहणलाई व्यवस्थित बनाउन पर्यटन विभागले सगरमाथा आधार शिविरमा सम्पर्क कार्यालय स्थापना गरेको छ। यसले अरोहण अनुगमन र सहजीकरण गर्ने काम गर्छ।
कार्यालयमा सम्पर्क अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सघं, एसपिसिसी र स्थानीय प्रतिनिधिहरू समेत रहेर सहजीकरण गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ। वसन्त सिजनमा आरोहणका लागि सगरमाथा आरोहणको ७० वर्षको इतिहासमै सबैभन्दा बढी ४३ आरोहण दलका ९८ महिलासहित ४ सय ६६ जनाले अनुमति लिएका छन्।
अहिले सगरमाथाका आधार शिविरमा आरोही र सहयोगीहरुको अत्याधिक चाप रहेको आधार शिविरमा रहेका पर्यटन व्यवसायी बाबु शेर्पाले बताए। मे १३ सम्म शिखरसम्मको बाटो खुल्न सक्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !