राजधानी जोड्ने व्यापारिक गौंडो

राजधानी जोड्ने व्यापारिक गौंडो

विकासपछि विनाश र विनाशपछि विकास।  बूढापाकाहरूको यही भनाइ सार्थक हुन पुगेको छ, रसुवागढी नाकाको हकमा। डेढ दशक अगाडिसम्म खासै चर्चामा आएको थिएन रसुवागढी नाका। 

तर, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको विनाशकारी भूकम्प र लगत्तै भारतले गरेको नाकाबन्दीपछि रसुवागढी नाका चर्चामा आएको हो। तातोपानी नाका बन्द भएपछि यतिखेर नेपाल-चीन प्रवेशका लागि सञ्चालनमा रहेको एक मात्र व्यस्त नाकाका रूपमा रसुवागढी नाका छ। 

काठमाडौंदेखि १ सय ५२ किलोमिटर उत्तर भोटेकोसी नदीको किनारामा रहेको रसुवागढी नाकालाई नेपाल र चीन सरकारले उत्तिकै प्राथमिकतामा राखेको छ। शदीयौं पहिले बाजेपुर्खाहरूले नुन लिन जाने पैदल मार्गका रूपमा रहेको रसुवागढी नाका अहिले नेपाल-चीन प्रवेशका लागि सञ्चालनमा रहेको एकमात्र आधिकारिक नाकाको रूपमा रहेको छ। 

विनाशकारी भूकम्प, नाकाबन्दी र पहिरोपछि रसुवागढी नाकाबाटै नेपाल र चीनबीच व्यापारिक कारोबार हुँदै आएको छ। नेपाल-चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एक मात्र रसुवागढी नाकालाई चीन पक्षले सन् २०१७ को सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिइसकेको छ। 

रसुवागढी नाकाबाट चीनको केरुङ २४ किलोमिटर दूरी उत्तरपश्चिमी भेगमा रहेको छ। यही नाकाबाट विभिन्न समयमा भएको निर्वाचनका लागि चीनबाट मतपेटिका, छेकावारलगायतका सामग्री आयात गरिएको थियो। चीनले हवाई मार्गबाट ल्याउन नसक्ने सहयोग सामग्रीहरू पछिल्लो समय यही नाकाबाटै उपलव्ध गराउँदै आएको छ। 

दुवै देशले यस नाकालाई प्रमुख मान्यता दिइरहेका कारण  विशेष सुरक्षा योजना कार्यान्वयन भइरहेको रसुवा प्रशासनले जनाएको छ। यस नाका चीन प्रवेशका लागि काठमाडौंदेखि छोटो दूरीको नाका हो।  

रसुवागढी नाकासम्म पुग्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नै सडक मार्ग स्तरोन्नति गर्ने नीतिअनुसार त्रिदेशीय सडकमार्गको अवधारणाअनुसार विकास र विस्तार भइरहेको छ। पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको विदुर हुँदै रसुवाको वेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी मार्गसम्म जोड्ने सरकारी योजनासार हाल धमाधम दुई लेनको पक्की मोटरबाटो निर्माण भइरहेको छ। 

सो सडक मार्गको काम हाल ५४ प्रतिशत सकिएको गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक आयोजनाले जनाएको छ। सरकारको योजनाअनुसार रसुवागढीबाट सडकमार्ग मात्रै नभई चीनको सिगात्सेदेखि आउने रेल भूमिगत रूपमा काठमाडौं पुर्‍याउने र काठमाडौंबाट लुम्बिनीसम्म पुर्‍याउने योजना रहेको छ। रसुवागढी नाकाबाट विशेषगरी विद्युतीय गाडीका साथै अन्य सामानको आयात निर्यात अहिले दैनिक रूपमा भइरहेको छ। रसुवागढी नजिकै टिमुरेमा रहेको रसुवागढी भन्सार कार्यालयवाट भन्सार राजस्व संकलनमा बढोत्तरीसमेत भइरहेको रसुवा भन्सार प्रमुख नारायणप्रसाद भण्डारीले बताए। 

रसुवागढी हुँदै केरुङ जोड्न आ.व २०७२/०७३ देखि गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक निर्माण भइरहेको छ। उक्त सडकको लम्बाइ ८२ किलोमिटर छ। जसमध्ये नेपाल सरकारले ६५ र चीन सरकारको अनुदानमा १७ किलोमिटर निर्माण हुने आयोजना प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए। 

उनका अनुसार उक्त सडकको हालसम्म ३५ किलोमिटर कालोपत्रे गरिसकिएको छ। हाल सडक चौडा बनाउने, पर्खाल निर्माण र नाली निर्माणको कार्य भइरहेको छ। कुल १५ अर्र्ब ५० करोड रुपैयाँ लागत रहेको सडक आयोजनामा हालसम्म आठ ८ अर्ब ७५ करोड रुपैयाँ खर्च भइसकेको छ। 

हालसम्म ३ अर्ब २५ करोड मुआब्जा तथा क्षतिपूर्तिका लागि र साँढे पाँच अर्ब निर्माणको काममा खर्च भइसकेको आयोजनाले जनाएको छ। सडक मार्गको बीचमा ३२ वटा पुल निर्माण गर्नुपर्नेमा १३ वटा निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए। जसमध्ये पाँच वटा पुल निर्माणाधीन र चार वटा पुलको ठेक्का प्रक्रिया भइरहेको छ। सडकका लागि सात सय ६६ रोपनी जग्गा अधिग्रहण भइसकेको छ। 

सडक डबल लेन र  केन्द्रबिन्दुबाट १५/१५ मिटर दायाँबायाँ फराकिलो हुने आयोजना प्रमुख श्रेष्ठले बताए। उनका अनुसार निर्माण गरिएको सडकमा ११ मिटर चौडाइमा कालोपत्रे र सात मिटरको अल्फाल्ट पिच गरिएको छ। सडकको आठौं पटक थपिएको म्याद २०८० साल असार २५ गते सकिँदैछ। निर्माण नसकिएकाले फेरि म्याद थपेर कार्य गर्नुपर्ने अवस्था छ। 

चीन जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रुबेसी सडक सञ्चालनमा आएसँगै कारोबारमा सहज भएको छ। मालबाहक कन्टेनर तथा साना सवारीसाधन उक्त सडकखण्डबाट आवतजावत गरिरहेका छन्। यो नाकाबाट तयारी कपडा, विद्युतीय गाडीलगायतका अन्य सामग्रीको आयात बढी हुने गरेको छ। नेपालबाट हस्तकला, मैदा, खुर्सानी, चाउचाउ, कृषि तथा वनजन्य सामग्रीको निर्यात हुने गरेको छ।

हाल रसुवागढी नाका प्रमुख नाकाको रूपमा स्थापित भएको स्थानीय पर्यटन व्यवसायी भीम पौडेलले बताए। उनका अनुसार रसुवागढी नाका अघिल्लो वर्षदेखि नेपाल-चीन प्रवेशका लागि महत्त्वपूर्ण र मुख्य नाका बन्दै आएको छ। ‘हाल यस नाकामा कुनै अवरोध छैन, सहज तरिकाले सामान आयात भइरहेको छ। नाकाबाट हाल धेरै मात्रामा गर्मी मौसमका लागि तयारी कपडाको आयात भइरहेको छ’, उनले भने।

रसुवागढी नाकाबाट सामान आयात हुने क्रम बर्सेनि बढ्दै गएको छ। नाकाबाट सबैभन्दा धेरै तयारी पोसाकलगायतका सामान आयात भइरहेको छ। नेपालतर्फको सडक जीर्ण भएका कारण फुट्ने सामान आयात हुन सकेको छैन। पहिरो र भूकम्पका कारण आठ वर्षदेखि तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ। 

रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी कन्टेनर सामान आयात गर्न जाने गरेका छन्। रसुवागढी नाकाबाट हस्तकलाका सामान, तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हातेझोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायतका मुख्य वस्तुहरू आयात भइरहेका छन्। नेपालबाट चीनतर्फ धातुको सामान, मैदा, हस्तकलाका सामान, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुसजाम, चकलेट, ऊनी गलैंचा, कार्पेट, चुइँगम, हेयर आयल, हेयर क्रिमलगायतका मुख्य वस्तुहरू निकासी भइरहेको छ। 

नेपालको उत्तरी चीन जोड्ने रसुवागढी नाका पुरानो भए पनि २०७१ साल मंसिर १५ गतेदेखि गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आएको हो। २०७२ वैशाख १२ गतेको भूकम्पले केही महिना र कोरोनाका कारण दुई वर्षभन्दा लामो समयसम्म रसुवागढी नाका प्रभावित भएको थियो। 

रसुवागढी नाकाबाट काठमाडौं, नुवाकोट, रसुवा, पोखरालगायतका सहरमा चिनियाँ तयारी सामान तथा पोसाक भित्रिने गरेको छ। नेपाल-चीन प्रवेशका लागि हाल मुख्य रूपमा वीरगन्जबाट गल्छी हुँदै नुवाकोटको विदुरबाट जाने रसुवागढी नाका स्थापित भइसकेका कारण यसको भौतिक विकास र सुधारका कार्यहरू गरिनुपर्ने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.