फरार प्रतिवादी पक्राउ अभियान : लुटपाट र कुटपिट मुद्दाका १८ जना एकैदिन पक्राउ

फरार प्रतिवादी पक्राउ अभियान : लुटपाट र कुटपिट मुद्दाका १८ जना एकैदिन पक्राउ
मोरङबाट बुधबार पक्राउ परेका फरार प्रतिवादीहरु । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशमा प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान चलाएको छ । फौजदारी र देवानी मुद्दामा दोषी ठहर भइसकेका अपराधीलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको हो ।

विभिन्न अपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासम्म कैद र जरिवाना भुक्तान नगरिकन लामो समयदेखि फरार रहेकालाई पक्राउ गर्न १४ वटै जिल्लामा प्रहरीको विशेष टोली परिचालित छ । अदालतसँग समन्वय गर्दै अपराधमा दोषी ठहर भएकाको विवरण संकलन गरेर प्रहरीले खोजी गरी उनीहरुलाई पक्राउ गरिरहेको हो । 

प्रहरीले प्रतिवादीलाई पक्रेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ । जरिवाना तोकिएकालाई त्यसवापतको रकम लिएर छाड्ने गरिन्छ । जघन्य एवं सामान्य प्रकृतिका अपराधमा संलग्नहरु फरार हुँदा कैदवापतको धेरै वर्ष र जरिवानावापतको ठूलो रकम असुल हुन बाँकी छ । खोजी गरेर तिनलाई पक्राउ गर्न कोसी प्रदेशमा व्यापक प्रहरी परिचालन गरिएको हो ।  

पक्राउ नपरेका अपराधी गाउँघरमा खुलेआम हिँडडुल गर्छन् । जसका कारण अपराधबाट पीडित बनेकाले न्यायको महसुस गर्न पाइरहेका छैनन् । उल्टै असुरक्षित महसुस गरेर पीडितले बस्नुपर्ने अवस्था छ । प्रहरी सक्रियतासँगै धमाधम फरार प्रतिवादी पक्राउ पर्न  थालेपछि पीडितले न्यायको अनुभूति गर्न पाएको प्रहरी अधिकारी बताउँछन् । 

यसै सन्दर्भमा मोरङको जहदा गाउँपालिका र सुनवर्षी नगरपालिकाबाट एकैदिन १८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले लुटपाट र कुटपिट मुद्दाका फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको हो । अदालतले दोषी ठहर गरेर जरिवाना तोकिएका प्रतिवादीहरु त्यसवापतको रकम भुक्तानी नगरिकन लामो समयदेखि फरार थिए । पक्राउ पर्नेमा ११ जना लुटपाट र ७ जना कुटपिट मुद्दाका प्रतिवादी रहेका छन् । 

अदालतले न्यून जरिवाना गरेको भएपनि भुक्तान नगरिकन भागिरहेका उनीहरुलाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत मोरङले लुटपाट मुद्दाका प्रतिवादीलाई २०७१ साल चैत २७ गते र कुटपिट मुद्दाका प्रतिवादीलाई २०७५ साल कात्तिक १८ गते जरिवानाको फैसला गरेको थियो । प्रतिवादीलाई तोकिएको जरिवाना प्रतिव्यक्ति ३ सय ७५ देखि ५ सय रूपैयाँसम्म मात्रै छ ।  

पक्राउ पर्नेमा लुटपाट मुद्दाका प्रतिवादी जहदा–४ का ४० वर्षीय रमेश ऋषिदेव,३५ वर्षीया अकालदेवी ऋषिदेव,५० वर्षीय मानिकचन ऋषिदेव,६० वर्षीय फागुलाल ऋषिदेव,४० वर्षीया लिलमदेवी ऋषिदेव, ५५ वर्षीय मदनलाल ऋषिदेव,४५ वर्षीय विशेश्वर ऋषिदेव,६८ वर्षीय सुकल मुखिया,५५ वर्षीया सितयादेवी मुखिया, ७१ वर्षीय रामेश्वर मुखिया र ४३ वर्षीय बुधन मुखिया रहेका छन् । पक्राउ पर्नेमध्ये सुकल, सितयादेवी, रामेश्वर र बुधनलाई प्रतिव्यक्ति ५ सय रूपैयाँ तथा अन्यलाई ३ सय ७५ रूपैयाँ जरिवाना अदालतले तोकेको थियो । 

त्यस्तै,कुटपिट मुद्दाका प्रतिवादी सुनवर्षी–२ का ५५ वर्षीय प्रमोद साह,३६ वर्षीय गंगा साह,३९ वर्षीय अनिल साह, ६० वर्षीय मनोजकुमार साह, ४० वर्षीया दिलकुमारी साह, ५६ वर्षीय गणेश साह र ५१ वर्षीय पुष्पलाल आचार्य पक्राउ परेका छन् । उनीहरुलाई अदालतले प्रतिव्यक्ति ५ सय रूपैयाँ जरिवाना तोकेको डीएसपी दाहालले बताए । 

पक्राउ गरेर प्रहरीले बुधबार नै उनीहरुलाई अदालतमा पेश गरेको छ । जरिवानावापतको रकम भुक्तान गरेर सबैजना छुटेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । 
यसैबीच,कोसी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म ९ सय ९३ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाबाट ५ सय ९० वर्ष कैद र २ करोड ८८ लाख ९३ हजार ७ सय २६ रूपैयाँ जरिवाना असुल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार चालु वर्ष सकिन समय बाँकी रहेका कारण पक्राउ पर्ने प्रतिवादीको संख्या बढ्ने छ । प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ७ सय ३८ जना प्रतिवादीलाई पक्राउ गर्दा ९ सय ६८ वर्ष कैद र ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रूपैयाँ जरिवाना असुल भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ७ सय ४३ जना प्रतिवादी पक्राउ पर्दा ७ सय ३५ वर्ष कैद र ४ करोड ४३ लाख ५८ हजार ९ सय २९ रूपैयाँ जरिवाना असुल भएको थियो । 

प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) राजेशनाथ बास्तोलाले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए । हत्या, बलात्कार,चोरी,लागुऔषध,लुटपाट,जुवा,कुटपिट,अभद्र व्यवहारलगायतका विभिन्न अपराधमा संलग्न भएर फरार बनेकाहरुलाई पक्राउ गर्न उनले विशेष टोली खटाएका छन् । 

‘फैसला कार्यान्वयनका लागि प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको छ,’बास्तोलाले भने,‘त्यसक्रममा कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकाहरु धमाधम पक्राउ परिरहेका छन् ।’ अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरू गाउँघरमा लुकिछिपी बसेको भए तत्काल जानकारी दिन उनले सबैमा अनुरोध गरेका छन् । ‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिन्छ,’डीआईजी बास्तोलाले भने,‘प्रतिवादीलाई भने पक्राउ गरेर कानुनको दायरामा ल्याइने छ ।’ 

उनका अनुसार प्रतिवादी पक्राउ पर्ने क्रम बढेपछि अपराधबाट पीडित बनेकाले न्यायको अनुभूति गर्न पाएका छन् । ‘अपराध गरेका व्यक्ति खुलेआम हिँडडुल गर्दा र पक्राउ नपर्दा पीडितले न्याय महसुस गर्न पाउँदैनन् । उल्टै पीडितले कानुनप्रति शंका गरिरहने वातावरण बन्छ,’बास्तोलाले भने,‘पक्राउ गरेर कानुनको दायरामा ल्याएपछि भने पीडितलाई न्याय र राहत मिल्छ । अपराधरहित समाज निर्माणको अभियानलाई सार्थक बनाउन फरार प्रतिवादी पक्राउ गर्नैपर्ने हुन्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.