आगोले जलेर एकै गाउँका चारजनाको मृत्युपछि अर्घाखाँचीको तिरतिरे शोकमा

सन्धिखर्क : आगोले जलेर एकै गाउँका चारजनाको मृत्यु भएपछि अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको सिंगो गाउँनै शोमा डुबेको छ । भुमिकास्थान नगरपालिका- २ ढाकाबांगमा आगो निभाउने क्रममा घाइते भएका चारजनाको उपचारको क्रममा मृत्यु भएपछि सिंगो तिरतिरे शोकमा डुबेको हो ।
मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका -२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएकोमा उपचारको लागि लैजादै गर्दा केहीको बाटोमा र केहीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाइ छ ।
आगोलागीमा परि घाइते भएका भुमिकास्थान -२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको स्थानीय विष्णु वेल्वासेले बताए।
आगोलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । आगोलागीले ज्यान गुमाएका घरपरिवारमा रहेका आफन्तलाई भेटेर घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी मिना अर्याललगायतको टिमले जानकारी लिनुका साथै राहात समेत प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्ला स्तरीय सुरक्षा प्रमुखहरुको टोलीले घटनास्थलमा गएर आगलागीको प्रकृति, मृतकका परिवारको अवस्था र आगो लाग्नुको कारणबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ ।
आगलागीमा परेर ज्यान गुमाएका चारजनाको परिवारलाई तत्कालका लागि ५० हजार रुपैयाँका दरले राहात उपलब्ध गराउने अर्यालले बताइन्। मंगलबार नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानीयबासी र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घरहरू जोगिएका थिए ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
