किन बाक्लियो शीर्ष नेताको दौडधुप ?

किन बाक्लियो शीर्ष नेताको दौडधुप ?

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन मन्त्री र सरकारका सचिव नै पक्राउ परेपछि राजनीतिक हलचल भएको छ। शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ। प्रधानमन्त्री एवं माओवादी पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दिनहुँजसो छलफलमा जुटिरहेका हुन्। 

दाहाल, देउवा र ओलीबीच बुधबार पनि भेट भयो। उनीहरूले यो प्रकरणलाई सामसुम गर्ने प्रयास गरेको आंशका सर्वसाधारणको छ। बैठकहरूमार्फत आफ्ना नेता जोगाउने उपायको खोजीमा लागेको देखिन्छ। यो प्रकरणलाई निश्कर्ष पुर्‍याउनेतर्फ उनीहरूले निर्णय गरेको कुनै कुरा बाहिर आएको छैन। 

राजनीतिक नेतृत्व दोषीलाई कारबाही गराउनेभन्दा जोगाउनतिर लागेका छन्। उनीहरूको भेटघाट यो प्रकरणलाई निश्कर्षमा पुर्‍याउनेतिर केन्द्रित देखिँदैन। भ्रष्टाचारको आगो दनदन बलिरहे पनि उनीहरू निभाउनेभन्दा ताप्नमै केन्द्रित रहेका सरोकारवाला बताउँछन्। 

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जना समातिएका छन्। खाँण सभापति शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन्। एमाले सचिव एव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्। पूर्वमाओवादी रायमाझी नेकपा विभाजनका बेला एमालेमै बसेका थिए। उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन्। 

दाहाल सरकार ढल्छ कि भन्ने त्रासका कारण सम्झौतामा आउनुपर्ने अवस्था देखिएको छ। खाँण समातिएपछि मात्रै एमालेले रायमाझीलाई निलम्बन गरेको छ। यो जालो आफैंतिर सोझिएपछि शीर्ष नेता त्रसित पनि देखिएका छन्। 

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति शीर्ष नेताबीच भएको बताएका छन्। शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नरहेको उनको दाबी छ। 

‘मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन। हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो,’ उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको छ।’

प्रहरीले आफ्नो काम गरिरहेकाले यसमा कुनै शंका गर्नुपर्ने स्थिति नभएको उनको भनाइ छ। ’आशंका गरिरहनु जरुरी छैन। हामीले प्रस्ट भाषामा भनेका छौं, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्। प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले आदेश दिएका छौं। प्रहरीले आफ्नो काम गरेको छ। यसकारण यो विषयमा द्विविधा हुनुपर्ने, आशंका गर्नुपर्ने कारण छैन,’ दाहालले भने। 

विधि विधान, नियम र पद्धतिअनुसार अनुसन्धान भएको जनाउँदै उनले प्रहरीले आफ्नो काम गरेको बताए। तर, उनको भनाइ अनुसार शीर्ष नेता गतिविधि देखिएको छैनन्।  प्रहरीको सक्रियतामा नै कारबाही अघि बढेको देखिन्छ। 

कांग्रेस युवा नेता गुरुराज घिमिरे यो प्रकरण राज्य संयन्त्र नै संलग्न भ्रष्टाचार भएको बताउँछन्। उनका अनुसार यसमा राज्यकै संरक्षणको भएको उजार भएको छ। यो राज्यविरुद्धको अपराध नै भयो। देशको अन्तराष्ट्रिय छवि नै धुमिल्याएको छ, उनले भने, जोसुकै होस् दोषीले उन्मुक्ति पाउनु हुँदैन। यो प्रकरणमा संलग्न भएकाहरूविरुद्ध कठोर कारबाही हुनुपर्ने उनको भनाइ छ। आग्रह, पूर्वाग्रहबिना निश्पक्ष रूपमा कसैको मोमलाइजा तथ्य र प्रमाणको आधारमा  अनुसन्धानु हुनु पर्ने उनको  भनाइ छ। 

एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई निलम्बन गरेको  हो।  राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर एमाले पार्टीले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको महासचिव शंखर पोखरेलद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

‘राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ। सोही मान्यताअनुरूप पक्राउ पुर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो। तर, पार्टी नेतृत्वलाई दिएको विश्वासविपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भिरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो।’ रायमाझी फरार छन्। 

मंगलबार बसेको एमाले सचिवालयको बैठकले रायमाझीलाई आत्मसमपर्ण गर्न निर्देशन दिएको थियो। तर, रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका छन्। प्रहरीले पक्राउ पुर्जी लिएपछि फरार रहेका सांसद रायमाझीले लिखित पत्र पठाउँदै आफू बिरामी भएको जानकारी दिएका  छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.