विद्यालयमा निर्वाचनबाट ‘क्याप्टेन’ छनोट

विद्यालयमा निर्वाचनबाट ‘क्याप्टेन’ छनोट
सुन्नुहोस्

सिन्धुली : नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्न प्रायः चुनाव हुने गर्छ। राजनीतिक पार्टी तथा भातृ संगठनको नेतृत्व छनोट लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनबाट गरिँदै आएको छ। तर, सिन्धुलीको कमलामाई नगरपालिका–६ मा रहेको भगवती अंग्रेजी माध्यमिक विद्यालयले क्याप्टेन (छात्र प्रमुख तथा छात्रा प्रमुख) को छनोट निर्वाचनमार्फत गराएको छ।

विद्यालयमा केही समयदेखि रिक्त रहेको छात्र प्रमुख तथा छात्रा प्रमुख पदमा विद्यार्थीहरूले शुक्रबार मतदान गरेर छनोट गरेको विद्यालयले जनाएको छ। शिक्षण सिकाइ क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको सहयोग लिई निर्वाचन प्रक्रियाबाट एक वर्षका लागि छात्र प्रमुख तथा छात्रा प्रमुख, उपप्रमुख, बाल क्लबको अध्यक्ष तथा हाउस क्याप्टेनसमेतको छनोट गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सञ्जीव श्रेष्ठले बताए। निर्वाचनबाट कक्षा १० मा अध्ययनरत सुप्रिम मोक्तानले ३ सय २७ मत प्राप्त गरी छात्र प्रमुखमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकेशकुमार यादवले १७० मत प्राप्त गरेका थिए।

त्यसैगरी छात्रा प्रमुुखमा कक्षा १० मा अध्ययनरत नुना गजुरेलले २ सय ५७ मत प्राप्त गरी छात्रा प्रमुख हुन सफल भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी अनिशा मुक्तानले २३६ मत प्राप्त गरेकी थिइन्। श्रेष्ठका अनुसार पेन्सी हाउस प्रमुखमा विधि कार्की र उप–प्रमुखमा राम कुमार साह, लिली हाउस प्रमुखमा आलोक अधिकारी र उप–प्रमुखमा कृष्ण यादव, मेरिगोल्ड हाउस प्रमुखमा सुजल जयसवाल र उप–प्रमुखमा सुशान्त पुलामी र रेडरोज हाउस प्रमुखमा सुलभ योञ्जन र उप–प्रमुखमा प्रणव पञ्जियार निर्वाचित भएका छन्।

निर्वाचनमा २० जना विद्यार्थीहरू विभिन्न पदका उम्मेदवार थिए। उनीहरूलाई कलम, किताब, पेन्सिल, इरेजर, कम्प्युटर, झोलालगायतका चुनाव चिन्ह प्रदान गरिएको थियो भने कक्षा ५ देखि १० सम्मका ५ सय ४ जना विद्यार्थीहरूले मतदान गरेका थिए। ‘कुल खसेको मतमध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार विद्यार्थीलाई निर्वाचित घोषित गरिएको छ,’ निर्वाचन अधिकृत तथा शिक्षक श्रेष्ठले भने।

विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका प्रिन्सिपल कृष्णकुमार उप्रेतीले बताए। ‘विद्यार्थीलाई सानैदेखि कस्तो व्यक्ति छान्ने भन्ने ज्ञान होस् र कसरी अनुशासित र अब्बल नेतृत्व छान्न सकिन्छ भन्ने जान्नका लागि निर्वाचनले मद्दत गर्ने छ भने यस्ता क्रियाकलापले राष्ट्रिय स्तरका निर्वाचनमा समेत सही नेतृत्व छान्न सहयोग पुग्ने आशा दिएका छौं’, उप्रेतीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.