महावै गाउँपालिका पूर्णखोप सुनिश्चितता दिगोपना घोषित
![महावै गाउँपालिका पूर्णखोप सुनिश्चितता दिगोपना घोषित](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_sxCuiIhidC_xg0CG0KXSM.jpg)
वीरेन्द्रनगर : कालिकोट जिल्लाको महावै गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो।
घोषणा कार्यक्रम सहभागीहरूले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्धता समेत गरेका छन्।
जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक कटक महत, गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले संयुक्त पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरेका हुन्।
पालिकामा १ देखि ७ वटै वडाका शून्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका सबै बालबालिकाहरूले खोप पाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको महावै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नन्दी शाहीले बताइन्।
उनका अनुसार अहिलेसम्म पालिकामा ९५ प्रतिशत बालबालिकाले खोपकार्ड पाएको देखिएको छ।
महाँवै गाउँपालिका, जिल्ला अस्पतालले अनुगमन गर्दा गाउँपालिकाका सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो।
अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको शाहीको भनाइ छ। सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको समेत उनले बताइन्। स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ।
उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्। पूर्ण मात्रको खोप लगाउँदा स्वास्थ्य सेवा सुधार हुन्छ। खोप लगाउनु अनिवार्य हो। स्वस्थ समाज बनाउन खोप अनिवार्य छ। गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए।
स्वास्थ्य सेवा कार्यालयले खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ। खोपको पहुँच भन्दा कोही पनि बालबालिका बाहिर नरहेको उनले बताए।
महावै विकट पालिका भएकाले खोप लगाउन र स्वास्थ्य सेवा दिन समस्या रहे पनि स्वास्थ्यकर्मीहरूले जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता दिगोपना घोषित गर्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)