कामीरिता २७ औं पटक सगरमाथा चुचुरोमा

कामीरिता २७ औं पटक सगरमाथा चुचुरोमा
सुन्नुहोस्

ओखलढुंगा :कीर्तिमानी आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा फेरि कीर्तिमान कायम गरेका छन्। ५३ वर्षका शेर्पाले बुधबार बिहान ८ बजेर ३० मिनेटमा सर्वोच्च शिखरको २७औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ। 

सेभेन समिटका मिङ्मा शेर्पाले कामीरिता विश्वको हिरो भएको प्रतिक्रिया दिएका छन्। ‘यस हिसाबले उहाँ संसारको पहिलो व्यक्ति हुनुभयो। यो हामी नेपालीका लागि गौरवको कुरा हो’, उनले भने।

कामीरिताले सन् २०१८ मा २२औं पटक आरोहण गरी आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए। त्यसयता उनले निरन्तर कीर्तिमान राख्दै आएका छन्। उनले गत वर्ष वैशाख २४ मा २६औं पटक आरोहण गरी आफ्नै रेकर्ड तोडेका थिए।

कामीरितापछि धेरै पटक सगरमाथा चढ्ने नेपाली आरोही पासाङ दावा शेर्पा हुन्। उनले गत वैशाख ३१ गते २६औं पटक आरोहण गरी कामीरितासँग रेकर्ड बराबर गरेका थिए। तर, कामीरिताले बुधबार सेभेन समिटको टिमलाई नेतृत्व गर्दै २७औं पटक आरोहण गरी फेरि कीर्तिमान बनाएका हुन्।

सोलुखुम्बुको दुर्गम गाउँमा जन्मेका उनी पारिवारिक रूपमै भरिया, गाइड, माउन्टेन क्याप्टेन हुँदै विख्यात आरोहीका रूपमा संसारभर चर्चित बनेका हुन्। उनका बाबु मिङ्मा शेर्पा सुरुवाती चरणका हिमाल आरोही थिए। उनले प्रथम सफल आरोही तेञ्जिङ नोर्गे शेर्पासँग आरोहण सिकेका थिए। उनका दाजु लाक्पारिता सातै महादेशका अग्ला हिमाल चढ्ने पहिलो शेर्पा हुन्। पारिवारिक वातावरणबाट भरिया, गाइड हुँदै आरोहण क्याप्टेनसमेत भएका कामीरिताको चाहना ५० वर्षको उमेरमा २५ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाउने भन्ने थियो। उनी ५३ वर्षमा २७ पटक आरोहण गर्न सफल भएका छन्। 

उनको जन्म सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकास्थित थामे गाउँमा सन् १९७० मा भएको हो। उनले सगरमाथा आरोहणमा कीर्तिमान त राखेका छन् नै, त्यस्तै चोयू आठ, मनास्लु तीन, ल्होत्से र केटु एक÷एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरेका छन्। 

उनी सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत उनको नाममा छ। उनले २२ वर्षको उमेरदेखि हिमाल चढ्न थालेका हुन्। जसले २४ वर्षको उमेरमा पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरे। उनले तीन सिजनमा दुई पटक सगरमाथा आरोहण गरेका छन्। उनले सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुईपटक आरोहण गरेका थिए। उनले २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा दोस्रो क्याम्पदेखि चुचुरोसम्म रोप फिक्सिङको नेतृत्वसमेत गरेका थिए। उनले सन् २०१९ मा २३औं र २४औं पटक आरोहण गरेका थिए। उनी सन् २०१९ मा सुप्रबल जनसेवाश्री विभूषित भएका थिए।  

वसन्त ऋतु सगरमाथा आरोहणको सिजन मानिन्छ। जलवायु परिवर्तनका कारण विश्व तापमानमा भएको वृद्धिले हिमालमा ढिलो हिउँ पर्न थालेपछि आरोहणको सिजन पनि परिवर्तन भइरहेको छ। पहिले आरोहणको सिजन शरद ऋतु हुन्थ्यो हाल वसन्त ऋतुमा सबैभन्दा आरोहण बढी हुने गरेको छ।

यो सिजनमा सगरमाथा आरोहणको ७० वर्षको इतिहासमा सबैभन्दा बढी ४४ दलका ९८ महिलासहित ४ सय ६७ जनाले आरोहण गर्दै छन्।   पर्यटन व्यवसायी ल्हाक्पा सोनाम शेर्पाले पनि बुधबार बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथा आरोहण गरेका छन्। उनी सगरमाथा चढ्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन्। 

‘सगरमाथा चुचुरोमा पुग्ने बुबाको सपना पहिलेदेखिकै हो। तर पूरा भएको थिएन’, छोरी दावा फुटी शेर्पाले भनिन्, ‘उहाँले सेभेन समिटको तयारी गर्नु भएको थियो। विशेष गरेर भूकम्पपछि उहाँले हिमाल चढ्ने तयारी गर्नु भएको हो। ममीभन्दा पहिले नै बुबाले थामसेर्कु, धौलागिरिलगायत हिमाल चढिसक्नुभएको थियो। ममीको निधनपछि उहाँको यात्रा रोकिएको थियो।’

भूकम्पपछि फेरि हिमाल चढ्ने तयारी गरेको उनले सुनाइन्। ल्हाक्पा अप्रिल १७ मा काठमाडौंबाट प्रस्थान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.