क्यान्टोनमेन्टमा भ्रष्टाचार देखिए जेल जान तयार छु : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्यान्टोनमेन्टमा भ्रष्टाचार देखिएको हल्ला कपोकल्पित र निराधार रहेको बताएका छन् । बिहीबार संसद बैकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार देखिएको हल्ला निराधार भएको स्पष्ट पारेका हुन्।
उनले भने,'क्यान्टोनमेन्टको रकममा भ्रष्टाचार भएको ठहरिए म जेल जान तयार छु। क्यान्टोनमेन्टको आर्थिक कारोबार सबै रेकर्ड छ ।'
प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकुको नाममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा आरोपको लागि आरोप मात्रै भएको बताए। उनले भने,' त्यतिबेला प्रकाशशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । राज्यबाट दिइएको रकम अडिट भएर टुंगो लागिसकेको छ । यदि त्यस्तो केहि छानबिन गर्नुपर्छ भने पनि म तयार छु । २०४८ सालपछिका सबै मुद्दामा छानबिन गर्न म तयार छुँ ।'