कर्णालीमा सिकाइस्तर खस्कँदै

कर्णालीमा सिकाइस्तर खस्कँदै
आठबीस नगरपालिका राकमकर्णाली दैलेखस्थित जनज्योति माविमा अध्ययनरत विद्यार्थी । तस्बिर : हिक्मतबहादुर नेपाली
सुन्नुहोस्

२०२० मा विद्यार्थीमा सिकाइ उपलब्धि ३२ प्रतिशतमा झरेको छ।

दैलेख : कर्णालीमा विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रको तथ्यांकले यस्तो देखाएको हो। सन् २०११ देखि कक्षा ३, ५, ८ र १० को विद्यार्थी उपलब्धि राष्ट्रिय परीक्षण गर्दै आएको केन्द्रले सन् २०२० मा गरिएको कक्षा ८ को परीक्षण नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजामा देशका अन्य ६ प्रदेशको तुलनामा कर्णालीको सिकाइ उपलब्धि कमजोर देखिएको छ। केन्द्रले कक्षा ८ का विद्यार्थीको नेपाली, अंग्रेजी, गणित र विज्ञापन विषयमा सिकाइस्तर परीक्षण गरेको थियो। 

परीक्षणका लागि संस्थागत र सामुदायिकसहित देशभरका १ हजार ८ सय विद्यालय समेटिएका थिए। जसमध्ये कर्णालीका २ सय विद्यालय समावेश गरिएको केन्द्रले जनाएको छ। २०१७ मा पनि कक्षा ८ को विद्यार्थी उपलब्धि राष्ट्रिय परीक्षण गरिएको थियो। त्यसबेला ४६ हजार विद्यार्थी सहभागी थिए। हालै गरिएको परीक्षणमा पनि ४६ हजार विद्यार्थीलाई सहभागी गराइएको थियो। 

परीक्षणको नतिजाले विद्यार्थीको नेपाली, गणित र विज्ञानमा सिकाइस्तर खस्कँदो रहेको औंल्याएको छ। सन् २०१७ भन्दा सन् २०२० मा सिकाइ उपलब्धि देशभर नै घटेको केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालले बताए। भुसालका अनुसार सन् २०१७ मा गणित विषयमा ४६ प्रतिशत विद्यार्थीमा सिकाइ उपलब्धि थियो। 

२०२० मा विद्यार्थीमा सिकाइ उपलब्धि ३२ प्रतिशतमा झरेको छ। पाठ्यक्रमअनुसार विद्यार्थीको विज्ञान विषयमा ४४ प्रतिशत रहेको सिकाइ उपलब्धि तीन वर्षपछि अर्थात् २०२० मा ३८ प्रतिशतमा झरेको छ। नेपाली विषयमा समेत बालबालिकाको सिकाइ कमजोर भएको महानिर्देशक भुसालले जानकारी दिए। नेपाली विषयमा सन् २०१७ मा ६९ प्रतिशत रहेको सिकाइ २०२० मा ५९ प्रतिशतमा झरेको छ। 

नतिजाअनुसार गणित र विज्ञान विषयमा प्रदेशअनुसार सिकाइ उपलब्धिको तुलना गर्दा कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि राष्ट्रिय औसतभन्दा कम देखिएको महानिर्देशक भुसालले बताए। गणित विषयको पाठ्यक्रमअनुसार कर्णालीका १३ प्रतिशत विद्यार्थीले मात्र सिकाइ हासिल गरेका छन्। नेपाली विषयमा सिकाइ उपलब्धि हासिल गर्ने विद्यार्थीको संख्या ४९ मात्रै प्रतिशत छ। यस्तै अंग्रेजी विषयमा बागमती प्रदेशका विद्यार्थीको सिकाइस्तर ७७ प्रतिशत हुँदा कर्णालीको ३१ प्रतिशत छ। 

परीक्षणका क्रममा गणित विषयमा देशभर ७१.७ प्रतिशत छात्रा र ६४.६ प्रतिशत छात्रले न्यूनतम सिकाइ हासिल गर्न नसकेको केन्द्रले जनाएको छ। विज्ञान विषयमा पनि देशभरका ६१ प्रतिशत छात्र र ६४ प्रतिशत छात्राले न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न सकेका छैनन्। अंग्रेजी र नेपाली विषयमा पनि विद्यार्थीको सिकाइस्तर कमजोर रहेको परीक्षणको नतिजाले देखाएको छ। 

विद्यार्थीहरूको सिकाइको अवस्था पहिचान गर्नुका साथै शैक्षिक पद्धति, पाठ्यक्रम तथा पाठ्यसामग्री, परीक्षा व्यवस्थापन, शिक्षक व्यवस्थापन र विकास, विद्यालय व्यवस्थापन, विद्यालयको पठनपाठनको वातावरण सुधार गर्ने उदेश्यले उक्त परीक्षण गरिएको केन्द्रका निर्देशक परशुराम तिवारीले बताए। यस्तै शिक्षा नीति, योजना, शैक्षिक कार्यक्रम तर्जुमा र कार्यान्वयनको प्रभावकारिताको अनुगमन तथा मूल्यांकनका लागि पृष्ठपोषण प्रदान गर्ने र शैक्षिक सेवा प्रवाहमा जवाफदेहिता कायम गर्ने तथा शैक्षिक प्रणालीमा सुधार गर्ने उद्देश्यले परीक्षण तिवारीको भनाइ छ।

परीक्षणले विद्यार्थीहरूको सिकाइ गिर्दो अवस्थामा रहेको निष्कर्ष निकालेको निर्देशक तिवारीले बताए। नेपालभर ६५ देखि ७० प्रतिशत विद्यार्थीहरूको न्यूनतम सिकाइ हुन नसकेको परीक्षणको नतिजाले औंल्याएको छ। परीक्षणको निष्कर्षमा भनिएको छ, ‘देशभरका अधिकांश विद्यालय सामान्य स्तरमा सञ्चालनमा छन्, विद्यालयमा न्यूनतम भौतिक पूर्वाधार पुग्नुपर्छ, सामुदायिक र संस्थागत विद्यालय बीचमा सिकाइ उपलब्धिमा अन्तर छ।’ गरिब परिवारका बालबालिका सिकाइमा झन् पछाडि पर्दै गएको केन्द्रले जनाएको छ। शिक्षक उत्प्रेरित भएर शिक्षण नगरे सुधार नहुने निष्कर्ष परीक्षणको नतिजाले देखाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.