तलब नपाएको भन्दै मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मी धर्नामा
![तलब नपाएको भन्दै मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मी धर्नामा](https://annapurnapost.prixacdn.net/media/albums/aandolan_hRtxQy4zIm_UZLeyp3ftg.jpg)
जनकपुरधाम : मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । धनुषाको मिथिला विहारी नगरपालिकाका स्वास्थ्यकर्मी तलब भत्तालगायतको माग गर्दै ११ दिनदेखि आन्दोलित भएका हुन् ।
स्वास्थ्यकर्मीले आकस्मिकबाहेकको सबै सेवा बन्द गरी विगत ११ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आर्थिक वर्ष विगत ८ महिनादेखिको बाँकी तलब भत्ताको व्यवस्था गर्न,बाँकी रहेको पोशाक भत्ताको रकम उपलब्ध गराउन माग गर्दै धर्ना बसेका हुन् ।
स्वास्थ्यकर्मीले नगरपालिकाको मिथिला विहारी नगरपालिका,नगर कार्यपालिकाको कार्यालय तारापट्टीको मूल गेटमा विभिन्न ६ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिए । उनले भने,‘हामी स्वास्थ्यकर्मी दिनरात नभनी खटिरहेका हुन्छौं,तर हाम्रो सेवा सुविधा ८ महिनादेखि नपाउँदा हातमुख चलाउन समस्या भइसक्यो ।’
आर्थिक वर्ष २०८०/०८१ देखि नियमित रुपमा महिनाबारी तलबको व्यवस्था गर्न, हरेक स्वास्थ्य चौकीमा औषधिको सहज व्यवस्थापन गर्न,विगत तीन वर्षदेखि बाँकी रहेको नागरिक लगानी कोष र संचय कोषको रकम समयमै जम्मा गर्न माग अघि सारेको छ । स्वास्थ्यकर्मी संघर्ष समितिका अध्यक्ष ओम प्रकाश यादवले भने,‘मेयर साबदेखि हाकिम साबसम्मले यो वर्ष स्वास्थ्यकर्मीको लागि बजेट नै नआएको भन्दै पन्छिन खोजेको छ । सबैको बजेट पालिकामा आएको छ, तर हाम्रो मात्रै बजेट आएन कस्तो अनर्गल कुरा हो यो ।’
मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले सिडियो कार्यालयको मिटिङ्ग रहेकोले बोल्न नमिल्ने बताए । उनले भने,‘मिटिङगमा तपाईं कसरी बोल्नु पछि कुरा गरौंला ।’
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले फोन उठाएर बोल्न चाहेनन् । उनले पहिलो पटक फोन उठाए पनि दोस्रो पटक फोन काटिदिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)