न न्याय पायौँ, न त छोराको ज्यान नै रह्यो

न न्याय पायौँ, न त छोराको ज्यान नै रह्यो
सुन्नुहोस्

दैलेख : दैलेखको भैरबी गाउँपालिका–५ का तुफान थापा चारवर्षअघि भक्तपुरमा बसेर लोकसेवा आयोगको तयारी गरिरहेका थिए। कमलबिनायकस्थित दाइसँग डेरा गरी बसेका थापालाई २०७६ पौष ९ गते गाडीले ठक्कर दियो। 

उनलाई नेपाल विद्युत प्राधिकरणको बा १ ञ २३९१ नम्बरको गाडीले ठक्कर दिएको थियो। गाडी चालक थिए, करण सारुमगर। काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा प्राधिकरणको गाडीको ठक्करबाट उनी गम्भीर घाइते भए। उनको उपचार बल्खुस्थित बयोधा अस्पतालमा भएको थियो।

दुर्घटनापछि थापालाई सिसियूमा राखेर उपचार गरिएको थियो। दुर्घटना हुँदा उनको शरीरको बाहिरी भागमा सामान्य छाला खुइलिएको देखिन्थ्यो। उपचारमा संलग्न चिकित्सकहरूले भने गम्भीर घाइते थापाको टाउकोभित्र फुटेर गिदीमा रगत जमेको, मेरुदण्डको हड्डी भाँचिएको बताएका थिए। 

सोही अनुसार उनको उपचार चल्यो। बयोधा अस्पतालका चिकित्सकहरूले घाइते थापालाई निरन्तर तीन वर्षसम्म औषधि सेवन गर्नुपर्ने र हेरचाह गर्नुपर्ने भन्दै प्रमाणित नै गरिदिए। ‘अहिले पनि  तुफानले मानसिक रोगको औषधी सेवन गरिरहेका थिए,’ बाजे नाता पर्ने आशिष थापाले भने।

तुफान आफ्नो कामको लागि कोठाबाट बल्खुतर्फ आएको र बल्खुस्थित सडक पार गर्न खोज्दा विद्युत प्राधिकरणको गाडीले ठक्कर दिएको तुफानका बुबा रत्नबहादुर थापाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। 

छोरालाई ठक्कर दिई गम्भीर घाइते बनाउने चालकविरुद्ध उनले महानगरीय प्रहरी वृत कालीमाटीमा २०७६ पुष १० गते जाहेरी दरखास्त दिएका थिए। जाहेरीमा गाडी चालकलाई सवारी अंगभंग मुद्दामा कानून बमोजिम कारबाही र घाइते छोराको उपचार खर्चसहित क्षतिपूर्ति समेत माग गरिएको थियो। उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा अल्झिएको छ। अदालतले मुद्दाको टुंगो लगाएको छैन। 

घटनाका पीडित अर्थात प्राधिकरणको गाडीको ठक्करबाट घाइते भएका युवक तुफानले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपक विस्टका अनुसार सोमबार बिहान उनी घर नजिकै मृत अवस्थामा फेला परेका हुन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनी केही वर्षयता डिप्रेसनमा रहेको देखाएको छ। ‘केही वर्षअघि गाडीको ठक्करबाट घाइते भएका रहेछन्, त्यसयता डिप्रेसनमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रहरी निरीक्षक विस्टले भने। मृतक युवकले घरपरिवारसँग अस्वभाविक व्यवहारहरू देखाउने गरेको प्रहरीले जनाएको छ। 

मृतकका बुबा रत्नबहादुरले गाडीको ठक्करबाट घाइते छोराको उपचारमा हालसम्म ४० लाख रुपैयाँ भन्दा बढी रकम सकिएको बताउँछन्। ‘घटनापछि सुरुमा ३३ लाख रुपैयाँ खर्च भयो त्यसबेला नेपाल विद्युत प्राधिकरणले आठ लाख रुपैयाँ खर्च बेहोरेको थियो,’ उनले भने। 

त्यसपछि निरन्तर स्वास्थ्य चेकजाँच र उपचारमा थप आठ लाख रुपैयाँ खर्च भएको रत्नबहादुरले बताए। त्यसबेलाको दुर्घटनाका कारण छोराको स्वास्थ्यस्थित बिग्रिदै गएको उनको भनाइ छ। 

उनले अदालतबाट न्याय नपाएको बताउँछन्। ‘दुर्घटना लगत्तै हामीले जाहेरी दरखास्त दिएका थियौँ, मुद्दा काठमाडौं जिल्ला अदालतमा छ, अदालतले मुद्दाको टुंगो लगाएको छैन,’ उनी भन्छन् ‘न अहिलेसम्म न्याय पाइयो, न त छोरा नै बच्यो।’ पछिल्लो समय अदालतबाट कुनैपनि सम्पर्क नगरेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.