स्याङ्जामा सुन्तला खेती विस्तार हुँदै
स्याङ्जा : स्याङ्जामा पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको छ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाले चक्लाबन्दीमा पनि खेती गर्न सकिनेगरी अभियान सञ्चालन गरेपछि सुन्तला खेती विस्तार भएको छ।
सुन्तला किसानले समूह बनाई चक्लाबन्दी गरेर सुन्तला रोप्न थालेका छन्। स्याङ्जाका ४ वडामा ८ सय रोपनी र अन्य १ हजारगरी १ हजार ८ सय रोपनी अर्थात (९० हेक्टर) मा सुन्तलाका क्षेत्र बढाएको कार्यालयले जनाएको छ।
पुतलीबजार नगरपालिका-११, भीरकोट नगरपालिका ५ र ७, वालिङ् नगरपालिका १३ मा गरी प्रति वडा २ सय ८ सय रोपनी क्षेत्रफलमा सुन्तला लगाइएको छ। त्यसभन्दा बाहिर अन्य किसानले करिब १ हजार रोपनीमा सुन्तला लगाएका छन्।
प्रति समूह २ सय रोपनी क्षेत्रफल बनाएर सुन्तला लगाउने गरिएको छ। यसरी सुन्तला लगाउँदा यहाँका किसानले वनजंगल फडानीदेखि सुन्तला रोपणसम्मका सम्पूर्ण विधि र उपकरण लगायतको प्याकेजमै ५० प्रतिशत अनुदान पाउने गरेको प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिए। चक्लाबन्दीमा सुन्तला रोपण गरे पनि स्वामित्व भने व्यक्तिको नै हुने बताइएको छ।
वालिङ् नगरपालिका-१३ स्थित पाखापानी कृषि समूहका अध्यक्ष भूपराज जिटीले सुन्तला रोपणमा गरेको मेहनत खेर नजाने बताए।