झापा कुटपिट घटना : सशस्त्रका इन्स्पेक्टर राईसहित दुई जवान निलम्बित

झापा कुटपिट घटना : सशस्त्रका इन्स्पेक्टर राईसहित दुई जवान निलम्बित

झापा : झापामा आफ्नै सहकर्मीमाथि निर्घात कुटपिट गरी गर्ने सशस्त्र प्रहरीका इन्स्पेक्टर नमप्रभाव राईसहित सशस्त्रका दुई जवान निलम्बनमा परेका छन्। 

इन्स्पेक्टर राईसहित कुटपिट घटनामा संलग्न सशस्त्रका जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको सशस्त्र प्रहरी बल नेपाल मुख्यालयका प्रवक्ता तथा एसएसपी राजेन्द्र खड्काले अन्नपूर्णलाई बताए। 

‘मुख्यालयले इन्स्पेक्टर राईका बारेमा हिजै गृह मन्त्रालयमा पत्र पठाएको थियो,’ प्रवक्ता खड्काले भने, ‘गृहले आज इन्स्पेक्टरलाई निलम्बन गरेर कारबाही अघि बढाउन स्वीकृत दिएको हो।’ 

अन्य दुई जवानको हकमा मुख्यालय आफैंले निलम्बन गरी कारबाही अघि बढाएको उनको भनाइ छ। यता घटनाको छानबिनका लागि मुख्यालयले बिहीबार नै सशस्त्रका एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरिसकेको छ। एआइजी नेतृत्वको छानबिन समितिको टोली शनिबार घटनास्थल झापा आउने जनाइएको छ।

‘छानबिन समितिको प्रतिवेदनको आधारमा कुटपिट घटनामा संलग्न सशस्त्रका कर्मचारीलाई ठूलै विभागीय कारबाही हुन्छ, त्यसमा कुनै दुविधा नै छैन,’ प्रवक्ता खड्काले भने। 

जेठ २३ गते मंगलबार राति करिब साढे १० बजेको समयमा मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दामा सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलाले भारततर्फ गाई गोरु कटाएको निहुँमा ड्युटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरू गणेश बहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई मेची नदीको पानीमा चोबल्दै, खेदाउँदै भाटैभाटाले कुटपिट गरेका थिए। 

कुटपिटबाट घाइते भएकाहरू सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत थिए। सादा पोसाकमा आएका इन्स्पेक्टर राईसहितको टोलीले बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा कुटपिट गरिरहेको देखेपछि त्यहाँका स्थानीय प्रतिकारमा उत्रिए। स्थानीयले कुटपिटमा संलग्न इन्स्पेक्टर राईसहितको टोलीमाथि नै खनिएका थिए। 

त्यसपछि घटनास्थल बिहान ३ बजेसम्म तनावग्रस्त बनेको थियो। स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी तोडफोड गर्दै इन्स्पेक्टर राईसहितको टोलीलाई कारबाहीको माग गर्दै चर्को नाराबाजी समेत गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.