राप्रपाका केन्द्रीय नेता संगठन निर्माण गर्न स्थानीय तहमा जाने
काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरेको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७५३ स्थानीय तहमा नेतालाई जिम्मेवारी दिने निर्णय गरेको हो।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेताहरूलाई यसरी खटाइएको यो पहिलो पटक हो।
राप्रपाले सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेर उनीहरूको काम, कर्तव्य र अधिकार निर्धारण गरिएको छ। सबै प्रदेश संयोजक र भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको लागि तय भएको राप्रपाले जनाएको छ।
भुगोलमा खटिएर जाने नेताहरुले वडा तहबाटै संगठन गठन, पुनर्गठन लगायत कार्यविधिमा तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको श्रेष्ठले बताए। उनका अुसार भुगोल केन्द्रित नेताहरूको कार्यविधिसमेत पारित भएको छ।
बैठकमा ‘राप्रपा : अब नवीन राप्रपा’ सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमको रुपमा लागू गर्नका लागि आवश्यक छलफल भएको छ।
प्रतिक्रिया दिनुहोस !