डुंगेश्वरका ३५७ घरमा खानेपानी
दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका तीन सय ७० जनाले आंशिक रोजगारी पाएका छन्।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १८ वटा योजना सञ्चालन गरी दुई सय ४ जनालाई रोजगारी प्रदान गरिएको छ।
यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाँच वटा योजना सञ्चालन गरी एक सय ६४ सहित कुल तीन सय ७० जनालाई आंशिक रोजगारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले बताए।
उनका अनुसार चालु आर्थिक वर्षमा कार्यान्वयन हुने योजनामध्ये जेठ मसान्तसम्म ७५ प्रतिशत योजना सम्पन्न भएको छ। सम्झौता भएका एक सय ३१ वटा योजनामध्ये ९८ वटा योजना अर्थात ७५ प्रतिशत योजनाहरू सम्पन्न भइसकेको गाउँपालिकाका अध्यक्ष केसीले बताए।
बाँकी योजनाहरू सम्पन्न हुने चरणमा रहेको उनको भनाइ छ। अघिल्लो गाउँसभाबाट स्वीकृत २०७९/०८० को नीति, बजेट र कार्यक्रमका आधारमा जेठ मसान्तसम्मको प्रगति विवरणमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको उल्लेख छ। उक्त भवन यसै आर्थिक वर्षभित्र हस्तान्तरण हुने अध्यक्ष केसीले बताए।
गाउँपालिकामा खानेपानी तथा सरसफाइ स्वच्छता योजना निर्माण सुरु गरिएको बताउँदै अध्यक्ष केसीले पालिकामा पानीको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गाउँपालिकाभर तीन सय ५७ घरधुरीमा नयाँ धारा जडान गरी खानेपानी सेवालाई थप विस्तार गरिएको छ।
गाउँपालिकामा १० शय्याको अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन स्वीकृत भइसकेको छ भने जग्गा प्राप्ति समेत भइसकेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाबाट शिविर सञ्चालन, मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधी उपचार खर्च वापत पाँच हजारका दरले उपलब्ध गराईएको अध्यक्ष केसीले बताए।
शिक्षा शाखाबाट गाउँ शिक्षा ऐन २०७४ को प्रथम संशोधन तथा गाउँ शिक्षा नियमावली २०७९, प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०७९ निर्माण भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा उत्कृष्ट विद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा विद्यालयलाई सम्मान गरेको अध्यक्ष केसीले बताए।
कृषि विकास तथा पशुपंक्षी विकास शाखाबाट चार वटा कृषि उपज संकलन केन्द्र, आलु भण्डारणका लागि रष्टिक स्टोर निर्माण गरिएको छ। सूचना प्रविधितर्फ गाउँपालिकाले अनलाइन प्रणालीबाट राजश्व संकलन प्रणाली लागु गरेको छ।
गाउँपालिका, सबै वडा, स्वास्थ्य संस्था र ६ वटा माध्यमिक विद्यालयमा ई-हाजिरी जडान गरिएको, योजना सफ्टवेयर, वडा सिफारिस, संघसंस्था दर्ताका लागि सफ्टवेयर लागु गरि डिजिटल गाउँपालिका बनाउने अभियानलाई जोड दिइएको गाउँपालिकाका अध्यक्ष केसीको भनाइ छ।
यसवर्ष बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमअन्तर्गत ४४ जना छोरीहरूको बैंक खातामा रकम जम्मा गरिएको छ। गाउँपालिकाले गर्भवती महिलासँग उपाध्यक्ष भेटघाट कार्यक्रममार्फत तीन सय १५ जना गर्भवती महिलाहरूसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य परीक्षणसँगै पोषणयुक्त कोसेली वितरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !