हलेसी तुवाचुङले दियो ४४ किसानलाई माउ भैंसी उपहार
![हलेसी तुवाचुङले दियो ४४ किसानलाई माउ भैंसी उपहार](https://annapurnapost.prixacdn.net/media/albums/bhaisi_otffntKRb7_vFIR7vCVFF.jpg)
सोलुखुम्बु : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ४४ जना किसानलाई माउ भैसी वितरण गरेको छ। किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी गराउने उद्देश्यले अनिवार्य रुपमा दुई माउ भैंसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैंसी वितरण गरेको हो।
किसान पहिचान गरी माउ भैंसी किन्न किसानलाई नगरपालिकाको बाहुनीडाँडा, वडहरे, मंगलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैंसी पाल्नेलाई नै एक/एक लाख नगद दिइएको थियो । ४४ जना किसानले घरघरमा भैंसी ल्याइसकेका नगरपालिकाका पशु सेवा संयोजक सन्देश ताम्राकारले जानकारी दिए । ताम्राकारका अनुसार कूल ७५ लाख सर्शत बजेट अन्तर्गत ४४ जना किसानलाई भैंसी किन्न एकएक लाख र भैंसीलाई गोठ बनाउन प्रति किसान २०/२० हजार प्रदान गरिएको छ । किसानहरुले भैंसी ल्याएर गोठ बनाइसकेको र कतिले बनाइरहेका छन्।
यस्तै, कूल ७५ लाख सर्शत बजेटभित्रै ४४ जना भैंसी पाएका किसानलाई दिनेगरी १० लिटरको ४४ वटा मिल्क क्यान (दूध राख्ने भाँडा) नगरपालिकामा ल्याइएको छ । हलेसी तुवाचुङ नगरपालिकाले कृषि र पशुपालनको माध्यमबाट नगर क्षेत्रको नगरिकको जीवनस्तर उकास्ने नीति लिएकाले किसानलाई भैंसी वितरण गरिएको मेयर बिमला राईले बताइन्।
व्यवसायिक कृषि र पशुपालनका लागि स्थानीय सरकारको पूरा साथ रहेकाले खुलेर कृषि तथा पशुपालन व्यवसायमा लाग्न मेयर राईले आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)