टीकापुरमा केरा खेती फष्टाउँदै

टीकापुरमा केरा खेती फष्टाउँदै

टीकापुर : कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ। यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ। बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन्। 

टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन्। यहाँ केराका लागि सुहाउँदो माटो भएका कारण हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन्। उनले भने, 'त्यो बेला केराको व्यवसाय गर्ने म एक्लो थिए। अहिले धेरै किसान यसमा लागेका छन्।' 

हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोडे। केराको मात्रै परिकार पाइने बनानाज रिसोर्ट निकै चर्चित छ। यहाँ उत्पादन भएको केराको चिप्स देशभर बिक्रीका लागि पठाइन्छ। उनी उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेका छन्। 

टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढीमा केरा खेती हुँदै आएको तथ्यांक छ। बर्सेनी केरा खेती विस्तार हुँदै गएको केरा व्यवसायी टेकेन्द्र धामी बताउँछन्। 'किसान केरा खेतीमा आकर्षित हुँदै गएका छन्। बजारीकरणको समस्या छैन, एकपटक खेती गर्दा तीन पटकसम्म आम्दानी लिन सकिन्छ', उनी भन्छन्, 'टीकापुरमै सहजै केराको बेर्ना उपलब्ध हुन्छ।'

धामीले केराको बेर्ना टीकापुरमै उपलब्ध गराउँदै आएका छन्। उनले सात वर्षदेखि टिष्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर किसानलाई बिक्री गर्दै आएका हुन्। केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर किसानलाई बिक्री गर्छन्। गत वर्ष करिब दुई लाख केराको बिरुवा बिक्री गरेको उनले बताए। 

केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन। टीकापुरमा उत्पादन भएको केरा कैलालीका अन्य ठाउँका साथै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौंसम्म बिक्री हुने गरेको छ। व्यवसायी राजकुमार चौधरी व्यापारी बारीमै आएर केरा खरिद गर्ने गरेको बताए। 

केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई सहयोग गर्दै आएको छ। कार्यान्वयन इकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरू ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ। 

कार्यान्वयन इकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालू आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले ६० लाख रुपैयाँ विनियोजन गरेको बताए। कार्यान्वयन इकाइले टीकापुरमा विषादीरहित केराको बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ। च्याम्बर पूर्ण रूपमा सञ्चालनमा भने आउन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.