सिरहाको मिर्चैयामा मेयर विरुद्ध प्रदर्शन

सिरहाको मिर्चैयामा मेयर विरुद्ध प्रदर्शन
सुन्नुहोस्

सिरहा : सिरहाको मिर्चैयामा मेयर विरुद्ध प्रदर्शन गरिएको छ। 

नगरपालिकाले घर भत्काएपछि जानकारी गराउन जिल्ला प्रशासन कार्यालय पुगेका पीडित पक्षलाई मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले बाटोमा दुर्व्यवहार गरेको भन्दै सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरिएको हो। 

प्रदर्शनका कारण राजमार्ग दुई घण्टासम्म अवरुद्ध भएको छ। आइतबार साँझ पनि टायर बाली प्रदर्शन गरेको थियो।

आन्दोलनकारीसँग समन्वय गरेर बाटो खुलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। तर, प्रदर्शनकारीले मेयर यादव विरुद्ध आन्दोलन जारी नै राखेका छन्।  

‘जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भएर आएपछि हामी मिर्चैयाका पीडितहरू जानकारी गराउन आइतबार जिल्ला प्रशासन कार्यालय गएका थियौं,’ मिर्चैयाका अन्जय साहले भने, ‘जिल्ला प्रशासन कार्यालय पुगेका पीडितमाथि मेयर श्रवणकुमार यादवले दुर्व्यवहार गरे।’

मेयर यादवले घर फर्किने क्रममा स्थानीयवासी सवार गाडीमा ठक्कर दिएर दुर्घटना गराउन खोजेको पनि आन्दोलनकारीले आरोप लगाएका छन्। प्रहरी प्रवक्ता पाण्डेका अनुसार गाडी विषयमा पनि अनुसन्धान भइरहेको छ।   

मिर्चैया नगरपालिकाले साबिक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ र २ (क) कित्ता नम्बर ६० को जग्गामा बनेका संरचना नेपाल सरकारको जग्गामा रहेको भन्दै करिब ३७ घर माघ २७, फागुन ११ र १९ गते तोडफोड गरी भत्काएको थियो। 

कित्ता नम्बर २५६ र ६० अहिले नगरपालिकाको ५ नम्बर वडामा पर्छ। नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको कदमले बेघर बनेको, व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको लगायतका दुखेसो पीडितहरूको छ।

गत चैत २७ गतेदेखि संघर्षमा उत्रिएका उनीहरूले बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपूर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्ने लगायत माग गर्दै आएका छन्।

सडक विस्तार मात्र होइन नगरपालिकाले सडकमै नपरेको बजार क्षेत्रको १७ घरधुरी बहाल बिटौरी, ऐलानी जग्गा भएको भन्दै भत्काइदिएको उनीहरूको भनाइ छ। कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा र २ (क) को कित्ता नम्बर ६० को २ कठा ५ धुर जग्गामा रहेका घर भत्काएको थियो। मिर्चैया बजारमा भत्काइएको ती घरमा व्यापारिक पसल सञ्चालित थिए।

मिर्चैया स्थापना हुनुभन्दा अघि जंगल नै रहेका बेला बजार लगाउन आफूहरूलाई यहाँ बसोवास गराएको भए पनि अहिले आएर नगरपालिकाले उठिबास गराएको उनीहरूको गुनासो छ। त्यही बसोबास गरेको जग्गा २००४ साल र २०२५ सालमा नै व्यक्तिको नाउँमा नापी र मालपोतमा दर्ता गराएको र पुर्जामा स्पष्ट गाउँ नै लेखिएको प्रमाण रहेको उनीहरूको दाबी छ।

उता नगरपालिकाले साबिक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा भूमिसुधार तथा मालपोत कार्यालयको मोठ स्रेस्ता अभिलेखको मोठ नम्बर १ (ङ) पाना नम्बर ६४६/१ मा सरकारको नाउँमा कायम रहेको देखिएको जनाउँदै जग्गा अतिक्रमण खाली गरिएको बताउँदै आएको छ। 

२०६५/२०६६ मा सरकारी सार्वजनिक जग्गाको विवरण पुस्तिकाको पाना नम्बर १०६ मा पनि सो जग्गा अभिलेखमा नेपाल सरकारको नाममा रहेको नगरपालिकाको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.