लम्पी स्कीनले रोपाइ प्रभावित भएपछि किसानलाई हाते ट्याक्टर वितरण
![लम्पी स्कीनले रोपाइ प्रभावित भएपछि किसानलाई हाते ट्याक्टर वितरण](https://annapurnapost.prixacdn.net/media/albums/lumpy-effect-tractor_oQDhgOozEp_id5Mm40r6c.jpg)
पालिकाको कृषि शाखाले किसान तथा कृषक समुहलाई ५० प्रतिशत अनुदानमा ४० थान हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख सविता बास्तोलाले जानकारी दिइन्। ६८ हजार मुल्य बराबरको हाते ट्याक्टरमा गाउँपालिका र कृषकले ३४-३४ हजारको लागत साझेदारी गरेका छन्।
सोलुखुम्बु : लम्पी स्कीनले रोपाइ प्रभावित भएपछि नेचासल्यानले किसान तथा कृषि समुहलाई अनुदानमा हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको छ। गाउँभरका गोरु लम्पी स्कीनका कारण थला परेर रोपाइ प्रभावित भएपछि पालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो।
पालिकाको कृषि शाखाले किसान तथा कृषक समुहलाई ५० प्रतिशत अनुदानमा ४० थान हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख सविता बास्तोलाले जानकारी दिइन्। ६८ हजार मुल्य बराबरको हाते ट्याक्टरमा गाउँपालिका र कृषकले ३४-३४ हजारको लागत साझेदारी गरेका छन्।
लम्पी स्कीनका कारण जिल्लाको मुख्य धान बाली हुने क्षेत्र नेचासल्यानमा अझै रोपाई हुन सकेको छैन। सल्यानका केही स्थानमा रोपाई भएपनि अन्य स्थानमा बाँकी नै रहेको किसानले बताएका छन्। गाउँभरका गोरुहरु लम्पी स्कीनको सिकारले धेरै जसो विरामी परेका छन् भने कतिपय मरेको स्थानीय राजिव शर्माले बताए।
पालिकाको पशु शाखाको तथ्यांक अनुसार हाल सम्म लम्पी स्कीनका कारण ८ वटा गाईगोरु मरेका छन् भने झण्डै ४ सय पशु संक्रमित भएका छन्। रोपाईको समयमा गोरु विरामी भएपछि आफुहरुले अनुदानमा हाते ट्याक्टरको अवधारण अघि सारेको गाउँपालिका उपाध्यक्ष विना राईले बताइन्। लम्पी स्कीनका कारण नेचासल्यानको धेरै जसो रोपाई गर्नुपर्ने खेत अहिले बाँझै छ केहिले मात्रै रोपाई सकेको बताइएको छ। पालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेपछि किसान खुसी भएका छन्।
जिल्लामा करिब एक हजार पशुमा संक्रमण
लम्पी स्कीनका कारण सोलुखुम्बुमा हाल सम्म दुई दर्जन बढी गाईगौरु मरेको सरकारी तथ्यांक छ। महामारीका कारण जिल्लाको विभिन्न पालिकामा गरी २६ वटा गाईगोरु मरेको स्थानीय तहहरुको पशु शाखाले जनाएको छ। जसमा सबै भन्दा बढी थुलुङ दुधकोशी गाउँपालिकामा १२ वटा, नेचासल्यान गाउँपालिकामा ८ वटा, लिखुपिके गाउँपालिकामा ५ वटा र महाकुलुङ गाउँपालिकामा एउटा गाईगोरु मरेको पशु सेवा शाखाले जानकारी दिएको छ।
जिल्लाभर करिब एक हजार वटा पशुहरु लम्पी स्कीनबाट संक्रमित भएका छन्। जसमा थुलुङ दुधकोशी गाउँपालिका ४३०, नेचासल्यान गाउँपालिकामा ४०० वटा पशुहरुसंक्रमित भएका छन्।
यस्तै लिखुपिके गाउँपालिकामा १०६ वटा, सोलुदुधकुण्ड नगरपालिकामा कम्तीमा १५ वटा, महाकुलुङ गाउँपालिकामा ४८ वटा, सोताङ गाउँपालिकामा ५० वटा र माप्यदुधकोशी गाउँपालिकामा ३० वटा पशुहरु संक्रमित भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)