निक्षेपको ब्याजदरमा तोडियो 'भद्र सहमति', बैंकहरुले आफै ब्याजदर तोक्ने
![निक्षेपको ब्याजदरमा तोडियो 'भद्र सहमति', बैंकहरुले आफै ब्याजदर तोक्ने](https://annapurnapost.prixacdn.net/media/albums/NBA-Logo_dzsn2kgiuk_p0Zsn6Bcoh.jpg)
काठमाडौं : निक्षेपको ब्याजदर साउन १ गतेदेखि बैंकको अवस्थाअनुसार घटबढ वा स्थिर हुने भएको छ । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभाव हुँदा नेपाल बैंकर्स संघले भद्र सहमतिमार्फत् समान निक्षेपको ब्याजदर निर्धारण गर्दै आएको थियो।
बिहीबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकमा भद्र सहमति तोडेर वाणिज्य बैंकहरुले आफूखुशी निक्षेपको ब्याजदर निर्धारण गर्ने विषयमा सहमति भएको हो। संघका कार्यकारी निर्देशक अनिल शर्माले बैंकहरुसँग तरलता प्रशस्त रहेको र कर्जाको माग पनि कम भएकाले अहिले निक्षेपको ब्याजदरलाई बैंकको अनुकूलअनुसार निर्धारण गर्ने निर्णय भएको जानकारी दिए। ‘पहिला तरलता अभावमा ब्याजदर माथि जाला भनेर भद्र सहमति गर्दै आएको हो । तर अब बजारको स्थितिअनुसार आ–आफ्नो हिसाबमा समायोजन गर्ने भनिएको हो । चौतर्फी दबाबमा होइन तथ्यांकले जे देखाउँछ सोहिअनुसार ब्याजदर निर्धारण हुन्छ,’ उनले अन्नपूर्णसँग भने ।
यसअघि खुला बजार अर्थतन्त्रमा ब्याजदरमा कार्टेलिङ भएकोमा विरोध समेत हुँदै आएको थियो । तर अबको निर्णयले भने यसको अन्त्य भएको छ । बैंकहरूबीच आफ्नो अनुकूल ब्याजदरमा प्रतिस्पर्धी हुने देखिन्छ ।
असारसम्ममा निक्षेपको ब्याजदर एकल अंकमै छ । सबैभन्दा बढि मुद्दती निक्षेपको ब्याज दर ९.९९ प्रतिशत छ । केन्द्रीय बैंकले निक्षेपको ब्याजदर ह्वात्तै घटबढ गर्न नपाउने तर मासिक १० प्रतिशतको सिलिङमा रहनुपर्ने व्यवस्था गरेको छ । यसैले अब बैंकको अवस्थाअनुसार ब्याज बढाउन परेमा करिब ११ प्रतिशत हाराहारी र घटाउन परेमा करीब ९ प्रतिशत आसपास रहने आंकलन गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)