योजना सम्पन्नको नक्कली कागजात तयार पारेर भुक्तानी

योजना सम्पन्नको नक्कली कागजात तयार पारेर भुक्तानी
सुन्नुहोस्

जनकपुरधाम : सञ्चालनमा रहेको तथा काम नै सम्पन्न नभएका योजनाहरूको सेटिङका आधारमा रकम भुक्तानी भएको पाइएको छ। 

महोत्तरीको जिल्लाको एकडारा गाउँपालिका कार्यालयले सञ्चालनमै रहेका योजनाहरूको नक्कली फाइल बनाएर कार्य सम्पन्न देखाउँदै भुक्तानी गरेको भेटिएको हो। पालिकाका जनप्रतिनिधिदेखि कर्मचारीको मिलोमतोमा नक्कली कागजात तयार पारेर ठेकेदारलाई भुक्तानी गरेको रहस्य खुलेको हो। 

जबकी स्थानीय तहको आर्थिक वर्ष २०७९/०८० को योजनाहरू असार २३ गतेसम्म कार्य सम्पन्न गरी २४ गतेसम्म भुक्तानी लिइसक्नुपर्ने कानूनी व्यवस्था छ। गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, लेखापाल सुरेश कुसवैत, इन्जिनियर शुभाष ठाकुर र कम्प्युटर अपरेटर मिथलेश ठाकुरले ठेकेदारसँग कमिशन र भागबण्डाको सेटिङ्ग गरेर काम नै सम्पन्न नभएका योजनाहरूको पनि भुक्तानी गरिसकेको भेटिएको स्थानीय राधे महतोले बताए।

एकडारा गाउँपालिका-४ हलखोरी गाउँमा ४० लाखको लागतमा निर्माण भइरहेको नाला र सडक ढलान कार्य अझै सञ्चालनमा रहे पनि त्यसको नक्कली फाइल बनाएर, कार्यसम्पन्न देखाएर योजनाको भुक्तानी गरिसकिएको छ। 

एकडाराकै वडा नं. २ मा पनि २५ लाखको लागतमा नाला निर्माण भइरहेको छ। जसको कार्य पूरा नभए पनि कमिसनका आधारमा अधुरो योजनालाई गाउँपालिकाले कार्य सम्पन्न देखाएर भुक्तान गरिसकेको स्थानीय सन्तोष यादवले बताए।

पालिकाले सञ्चालन गर्ने कुनै पनि योजनाको विधिवत रुपमा सम्पूर्ण काम हुनुपर्ने, प्राविधिक इन्जिनियरले गरेको लागत इष्टिमेट बमोजिम काम गरिनुपर्ने, कामपश्चात उपाध्यक्ष वा उपमेयरको संयोजकत्वमा बनेको अनुगमन समितिले अनुगमन निरीक्षण गरी पारित गरेपश्चात मात्रै भुक्तानी दिने कानूनी व्यवस्था रहेकोमा एकडारा गाउँपालिकाले सबै नियम, कानून मिच्दै कमिशनकै लागि अधुरै रहेको योजनाहरूको पूरा भुक्तानी गरेको छ।

४० लाखको लागतमा एकडारा गाउँपालिका-४ हलखोरीमा र २५ लाखको लागतमा एकडारा गाउँपालिका २ बेला गाउँमा सञ्चालनमा रहेको नाला र सडक ढलान कार्यक्रममा मापदण्ड विपरीत छड, सिमेन्ट र बालुवाको प्रयोग गरेर ठेकेदारले कमसल निर्माण कार्य गरिरहेको स्थानीय रन्जीत यादवले आरोप लगाए। उनले भने, ‘२३ गते भित्र सम्पन्न हुनुपर्ने काम आज ३० गते सम्म पनि हुँदैछ, तर भुक्तानी पुरै भइसकेको छ। कमअसल काममा गरेर लिपपोत गर्दै सञ्चालनमा रहेको काम रोकी काम नै नभएको कामको कसरी भुक्तानी दिइयो भन्ने विषयमा छानविन हुनुपर्छ।'

आर्थिक वर्ष समाप्त भइसकेको अवस्थामा पनि भ्रष्टाचार गर्ने नियतले हलखोरी गाउँमा नाला र सडक ढलान कमसल र मापदण्ड विपरीतका भइरहेकोले अख्तियारले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने एकडारा गाउँपालिका २ बस्ने भूपेन्द्र ठाकुरको भनाइ छ। उनले भने, ‘अख्तियारले आएर तुरुन्तै सम्पूर्ण योजनाहरूको स्थलगत निरीक्षण गरेर छानबिन, अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ।’    

सञ्चालनमै रहेका योजनाहरूका भुक्तानी कसरी गरियो भन्ने सन्दर्भमा एकडारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहले कार्य सम्पन्न भइसकेको दावी गरे पनि स्थलगत रुपमा काम सञ्चालनै रहेको छ। 

पालिकाका उपाध्यक्ष मजहबी खातुनले सञ्चालनमै रहेको योजनाको भुक्तानी गरिएको हो भन्ने प्रश्नमा उनले आफूले कुनै अनुगमन प्रतिवेदनमा हस्ताक्षर नगरेको र भुक्तानी सम्बन्धमा आफूलाई थाहा नभएको अन्नपूर्णकर्मीसँगको कुराकानीमा बताए। 

यसअघि एकडारा गाउँपालिका-४ भंगैहियामा असार २५ गते राती १२ वजे ठेक्केदारले रकम निकासा गर्ने हिसाबले सडकमा ग्राभेल खसाइरहेको भन्दै स्थानीयहरूले ३ ट्रयाक्टर र १ जेसीभी आफ्नो नियन्त्रणमा लिएर पालिकामा स्थानीयहरूले तालाबन्दी समेत गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.