कांग्रेस रूपान्तरणको लागि महामन्त्री शर्माको प्रस्ताव- काँधमा जिम्मेवारीदेखि भातृसंस्थालाई कारबाही गर्नेसम्म
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको लागि सातवटा प्रस्ताव पेस गरेका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा उनले सात प्रस्ताव पेस गरेका हुन्।
उनले केन्द्रीय सदस्य सबैले जिम्मेवारी पाउनेगरी 'हरेक काँधमा जिम्मेवारी, हरेक हातमा काम' अभियान सुरू गर्नुपर्ने बताए। 'यसलाई जगेडामुखी अभियान भन्दा फरक पर्दैन। सबै राजनीतिक दलको परम्परागत शैली छ। केन्द्रीय सदस्यको जिम्मेवारी लिएको छ। पद ओगटेको छ। तर काम सोध्दा केही छैन,' उनले भने, 'सहमहामन्त्रीबाटै यो अभियानको थालनी गरौं। कोही सहमहामन्त्रीज्युको हात खाली नराखौं।'
उनले बृहत् युवा उद्यमशिलताको सन्दर्भमा पार्टीभित्र अभियान चलाउन जरुरी रहेको बताए। कांग्रेसमा लागेका युवाहरूको मात्र नभई समाजका सम्पूर्ण युवालाई यो अभियानमा समेट्न उनको आग्रह छ। 'तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि भनेर मैले भन्ने गरेको छु। यो अभियानलाई सार्थक बनाउन जरुरी छ,' उनले भने।
महामन्त्री शर्माले प्रदेश कमिटीमार्फत् प्रदेशका भातृ संस्थाहरू विस्तार गर्नुपर्ने बताए। 'जसरी केन्द्रमा केन्द्रीय कमिटीमार्फत् निर्णय भएका छन्। त्यसरी नै प्रदेशको हकमा प्रदेश कमिटीलाई त्यो जिम्मेवारी सुम्पौं,' उनले भने।
उनले पार्टीको भातृ वा सुवेच्छु संस्थाहरूलाई कडाइ गर्नुपर्ने बताए। भातृसंस्थाका कतिपय कामले सिंगो कांग्रेस बदनाम भइरहेको भन्दै उनले नीति अधिवेशनमार्फत् पार्टीको कुनै पनि तहका भातृ वा सुवेच्छुक संस्थाले सभ्य र मर्यादित भएर कुनै पनि माग राख्नुपर्ने बताए।
'एक ठाउँमा आक्रमण हुँदा देशभरिको कांग्रेस आलोचित हुनुपर्ने अवस्था छ। एउटा कुनै भातृसंस्थाले कालोमोसो दल्छ, देशभरिको कांग्रेस आलोचित हुनुपरेको छ। यो ढंगको व्यवहारले पार्टीलाई नोक्सानी गरेको छ। त्यस्ताहरूको तत्काल सदस्यता खारेज गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ,' उनले भने।
उनले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरूलाई भोट हाल्ने व्यवस्था गरेको र निर्वाचन आयोगले पनि त्यसको प्रक्रिया सुरु गरेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क विस्तार गर्नुपर्ने बताए। 'पार्टीले अन्तर्राष्ट्रिय स्तरमै जनसम्पर्क कमिटी विस्तारको परिकल्पना गर्नुपर्छ। विदेशबाट कम्तिमा ६ वटा केन्द्रीय सदस्य ल्याउन सक्यौं भने त्यहाँका साथीहरूको काम गर्ने जाँगर पनि बढ्छ,' उनले भने। उनले नागरिकताका सबालमा सबैभन्दा बढी आवाज उठाउने नेपाली कांग्रेस नै रहेको बताए।
त्यस्तै उनले पार्टीको अधिवेशनको कुनै एक तहमा पराजित नेतालाई माथिको कुनै तहमा मनोनीत गर्ने प्रस्ताव पनि पेस गरे।
प्रतिक्रिया दिनुहोस !