मेडिकलमा व्यथिति : लाइसेन्स एउटाको, औषधि बिक्री गर्ने अर्कै

मेडिकलमा व्यथिति : लाइसेन्स एउटाको, औषधि बिक्री गर्ने अर्कै
गुलरियामा सञ्‍चालित फार्मेसीमा अनुगमन गरिँदै  । तस्विर : यादव आचार्य

गुलरिया : जिल्लामा सञ्‍चालित मेडिकल तथा फामेर्सीहरूमा लाइसेन्स नै नलिएका व्यक्तिहरूले औषधि बिक्री वितरण गर्ने गरेको पाइएको छ । मेडिकल दर्ता गर्ने क्रममा आधिकारिक व्यक्तिको नाममा अनुमति लिएको भएता पनि बिक्री वितरणका बेला अनधिकृत व्यक्तिको प्रयोग भएको पाइएको छ।

बर्दियाका केही मेडिकलमा लाइसेन्स एउटाको औषधि बिक्री वितरण गर्ने अर्को व्यक्ति भेटिएको औषधि  व्यवस्था विभाग बाँकेकी सुपरभाइजर श्रृजना पोखरेलले बताइन् । 'हामीले विभाग,जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय बर्दियालगायतको संयुक्त टोलीले अनुगमनका क्रममा अनधिकृत व्यक्ति देखिएपछि मेडिकलका सटर बन्द गरिदिएका छौं । औषधि व्ययवसायीबाट धेरै कैफियत पाइएको छ । मेडिकल सञ्चालक लाई समयसीमा तोकेर औषधि  व्ययवस्था विभागको कार्यालय नेपालगञ्जमा बोलाएका छौं ।'

उनले विभागले मागेको डकुमेन्टहरू उपलब्ध नगराउने व्यवसायी निलम्बनमा परिने बताइन्।

'मेडिकलहरूले नार्कोटिक औषधिको अभिलेख राखेका छैनन् । फार्मेसीहरूमा औषधिको रेकर्ड राख्नुपर्ने,अनुमति पाएका  व्यक्तिले औषधि बिक्री वितरण गर्नुपर्ने सबै सेवाग्राहीलाई म्याद गुज्रिने मिति र व्याच नम्बर उल्लेख गरी अनिवार्य रुपमा विल दिन निर्देशन दिएका छौं । वास्तविक व्यवसायी मेडिकलमा नभेटिनु,अनुमति लिएका व्यक्तिहरू मेडिकलमा नबसी अन्य व्यक्तिहरूले औषधि विक्री वितरण गर्नु कानुन विपरित हो,' उनले भनिन् । 

औषधि ऐन २०३५ अनुसार मेडिकलहरूले औषधि व्यवस्था विभागमा दर्ता भइ औषधि व्यवसाय सञ्‍चालन गर्नुपर्ने प्रावधान रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । विभागले सञ्‍चालन गरेको कोर्ष वा फार्मेसी विषयमा अध्ययन गरेको व्यक्तिले अनुमति पाएपछि मात्र औषधि बिक्री वितरण गर्न पाउने कानुनी प्रावधान छ । 

गाउँघरमा त्यसो गरेको पाइएन । उनले भने,' व्यवसायीले विभागमा दर्ता भइसकेपछि स्थानीय तह तथा बाणिज्य कार्यालयमा दर्ता गर्नुपर्छ । कानुनीरुपमा दर्ता भएका फार्मेसीले वार्षिक रुपमा अद्यावधिक समेत गर्नुपर्ने व्यवस्था छ । 

बर्दियामा औषधि व्यवस्थापन कार्यलाई गुणस्तरीय र सहज बनाउँदै म्याद गुज्रिएका तथा अनधिकृत व्यक्तिमार्फत् विक्री वितरणमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाभरी नै अनुगमन गर्ने तयारी गरेको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले बताए ।

उनले भने,' पहिलो चरणमा बर्दिया अस्पताल, गुलरिया तथा राजापुर नगरपालिकामा संचालित १३ वटा औषधिका फार्मेसीमा पुगेका छौं । अनुमति प्राप्त व्यक्ति  नभेटिएका ३ वटा फार्मेसी बन्द गर्यौं । जिल्लाका बाँकी फार्मेसी क्रमशः अनुगमन गर्दै औषधि व्यवसायलाई प्रभावकारी बनाउँदै लगिने नीति बनाएका छौं ।'

राजापुर नगरपालिका वडा नम्बर ४ स्थित प्रविण मेडिकल हलका सञ्चालक बैजनाथ झाले सरकारले मेडिकलको अनुगमन गर्दै सुझाव दिनु राम्रो भएको बताए । तर, मुख्य बजार क्षेत्रभन्दा बाहिर सञ्चालित  मेडिकलमा अनुगमन हुँदैन । उनले कर तिर्ने र नियम पालना गर्नेलाई मात्र थप कडाइ गरिने गरेको बताए।  मेडिकल दर्ता नै नगरी सञ्‍चालन गर्नेतर्फ पनि ध्यान दिन उनले आग्रह गरे । 

उनले भने,' हामी पटक पटक निगरानीमा पर्ने दर्ता नगरेका मेडिकलले सधैं उन्मुक्ति पाउने राम्रो होइन् । '

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.