मोरङमा एक महिनामा ५ हजार जनाले लिए वंशज नागरिकता
विराटनगर : जन्मसिद्ध नागरिकका सन्तानले एक महिनाको अवधिमा ५ हजार वंशज नागरिकता लिएका छन् । लामो समयपछि सरकारले जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने बाटो खुलाएपछि जिल्ला प्रशासन कार्यालय मोरङबाट एक महिनामा ५ हजारले वंशज नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक ८० देखि एक सय हराहरीमा जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने गरेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता शरद कुमार पोखरेलले जानकारी दिए । असार ११ गतेदेखि फर्म लिएर १२ गतेदेखि नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालयले यो अवधिमा १२ हजार भन्दा बढीले फर्म भरिसकेको जनाएको छ।
जन्मसिद्धका सन्तानलाई दिइने नागरिकता वितरणको लागि जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै डेस्क बनाएर काम गरिरहेको प्रवक्ता पोखरेलले जानकारी दिए । टोकनका आधारमा कुन दिन नागरिकता लिन पाइन्छ भन्ने जानकारी दिएर पठाउने गरिएको सहायक प्रमुख जिल्ला उनले बताए ।
‘अहिले पनि दैनिक ६ जना कर्मचारी नागरिकता विरतणको लागि खटाइएको छ,'उनले भने,'एक महिनाको बीचमा नागरिकताको लागि फर्म भरेर बुझाउनेको संख्या करिब १२ हजारको हाराहारीमा छ।' उनका अनुसार पुस महिनासम्मको टोकन वितरण भइसकेको छ।
०६३/०६४ सालमा मोरङ जिल्लामा मात्र जन्मसिद्धका आधारमा ३५ हजारले नागरिकता लगेको प्रशासनको तथ्याङ्क छ । जन्मसिद्ध नागरिकता प्राप्त गर्ने सन्तानहरू करिब ५० देखि ६० हजारको हाराहारीमा रहेको अनुमान गरिएको ।
५० हजारलाई आधार मान्ने हो भने पनि अहिलेसम्म ४ हजार ५ सयले मात्र नागरिकता प्राप्त गरेको अवस्था छ । यो क्रम लामो समयसम्म जाने प्रशासनको अनुमान छ । ‘नियमित गरिरहेको काममा एक्कासी चाँप थपिँदा सेवा प्रवाहमा सकस थियो,'उनले भने,'स्रोत साधनको अभावका बीचमा पनि हामीले धेरै सेवा दिन सफल भएका छौँ ।’
प्रतिक्रिया दिनुहोस !