भोजपुरमा बाँदर आतंक कम गर्न बन्ध्याकरण कार्यक्रम
भोजपुर : वर्षौंदेखि बाँदर आतंकले हैरान किसानका लागि पौवादुङमा गाउँपालिकाले नयाँ रणनीति तयार गरेको छ । खेतबारीमा लगाएको मकै, कोदो, आलु, तरकारीलगायतका बाली सखाप पार्ने बाँदरको बढ्दो समस्या नियन्त्रण गर्न गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने नीति ल्याएको हो ।
पछिल्ला वर्षहरूमा गाउँपालिकाका अधिकांश क्षेत्रमा बाँदरको संख्या उल्लेख्य रूपमा बढेसँगै किसानहरू खेतीपातीबाटै पलायन हुने अवस्था सिर्जना भएपछि गाउँपालिकाले उक्त कार्यक्रम ल्याउने भएको हो । गाउँसभाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान तथा बन्ध्याकरण कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले ५ लाख बजेट समेत विनियोजन गरेको छ ।
दिनरात खेत कुरेर बसे पनि बाली जोगाउन कठिन भएपछि स्थानीय तहले दीर्घकालीन समाधानको उपाय खोज्न थालेको यो भोजपुरमा पहिलो पटक हो । गाउँपालिकाका अध्यक्ष किरण राईले बाँदर किसानको सबैभन्दा जटिल समस्याका रूपमा देखिएकाले यसको स्थायी समाधान खोज्न बन्ध्याकरण कार्यक्रम अघि सारिएको बताए । ‘हरेक वर्ष किसानले ठूलो क्षति व्यहोर्नु परेको छ,’ उनले भने, ‘समस्या टार्ने होइन, समाधान गर्ने उद्देश्यका साथ बन्ध्याकरण कार्यक्रम ल्याएका हौँ ।’
प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार संघीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेको छ । सोही कार्यविधिसँग समन्वय गरेर गाउँपालिकाले पनि कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको उनले बताए । बाँदर आतंकका कारण किसानको उत्पादन घट्दै गएको र खेतीप्रतिको आकर्षण समेत कम हुन थालेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सुनाइन् ।
भनिन्, ‘किसानले वर्षभरिको मेहनत केही घण्टामै गुमाउनु पर्ने अवस्था छ । त्यसैले दीर्घकालीन समाधानका लागि यो वर्षदेखि बन्ध्याकरण कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ ।’ कार्यक्रम सञ्चालनका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिने गाउँपालिकाले जनाएको छ । बन्ध्याकरणमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी भविष्यमा यसको संख्या व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ ।
भोजपुरका ग्रामीण क्षेत्रमा बाँदर आतंक पछिल्ला वर्षहरूमा कृषि क्षेत्रकै ठूलो चुनौती बनेको छ । कतिपय किसानले बाँदरको डरले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् भने धेरैले उत्पादनमा ठूलो क्षति व्यहोर्दै आएका छन् । यो अवस्थामा पौवादुङमा गाउँपालिकाले अघि सारेको बन्ध्याकरण कार्यक्रमलाई किसानहरूले आशाका रूपमा हेरेका छन् ।
गाउँपालिकाको यो कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा बाली संरक्षण, कृषि उत्पादन वृद्धि तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने पौवादुङमा गाउँपालिका ६, ठुलोदुम्माका समिर राईले बताए । बाँदर नियन्त्रणको दीर्घकालीन उपाय खोज्ने प्रयास स्वरूप सुरु गरिएको यो अभियान सफल भए अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बन्न सक्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस !