इमेज सहकारी पीडित बचतकर्ताद्वारा टर्च लाइट बालेर विरोध

बागलुङ : इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताहरुले आइतबार टर्च लाइट बालेर प्रदर्शन गरेका छन्। एक अर्बभन्दा बढी रकम हिनामिना गरेर फरार भएका सहकारीका संस्थापक अध्यक्षसहित सहकारीका संचालहरुलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिन पीडित बचतकर्ताहरुले टर्च लाइट बालेर प्रदर्शन गरेका हुन्।
पीडित बचतकर्ताहरुको इमेज बचतकर्ता संघर्ष समितिले बागलुङ बजारमा रहेको सहकारीको भवनदेखि बजारभरी टर्च लाइट बालेर खोजी गर्दै नाराबाजी गरेका थिए। संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बचत रकम हिनामिना गरेर फरार भएका देवकुमार नेपालीसहितका संचालक समितिहरुलाई प्रशासनले पक्राउ गर्न ढिला गरेकोले दबाब स्वरुप टर्च लाइट बालेर प्रदर्शन गरेको बताए।
उनले प्रहरी प्रशासनले खोजी गरिरहेपनि ढिलासुस्ती गरेको बताए। ‘फरार देवकुमार नेपालीसहितको टोलीलाई प्रहरी प्रशासनले खोजी गरिरहेको छ,’ कार्कीले भने,‘खोजी कार्यमा ढिला भएको महसुस भएर चाँडो पक्राउ गर्नको लागि दबाब दिन टर्च लाइट बालेर प्रदर्शन गरेको हौं।’
संघर्ष समितिका संयोजक कार्कीले देशभरका सहकारी र लघुवित्तका पीडितहरुले साउन १८ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बताउँदै सबैलाई काठमाडौंमा जानको लागि आव्हान गरेका थिए। इमेज सहकारीका पीडित बचतकर्ताहरुले आइतबार साँझ एकै साथ बागलुङ बजार, गलकोटको हटिया बजार र ढोरपाटनको बुर्तिबाङ बजारमा टर्च लाइट बालेर विरोध प्रदर्शन गरेका थिए।
ढोरपाटन नगरपालिकाका नगरप्रमुखसमेत रहेको नेपाली गतजेठ ५ गतेदेखि फरार रहेका छन्। नेपाली सहित सहकारीका संचालकका विरुद्धमा प्रहरीमा १ हजार ४ सय ८१ जना बचतकर्ताले मुद्वा दर्ता गरेका छन्। नेपालीसहित सहकारीका संचालक र कर्मचारी गरि ११ जना विरुद्ध बचतकर्ताले जिल्ला अदालत बागलुङमा रु. १ अर्ब ३० करोड विगो दाबी गरी ठगी मुद्दा दर्ता गरेका छन्।
प्रहरीले सहकारीको लाखौं रकम हिनामिना गरी ठगी गरेको आरोपमा सहकारीका संचालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पक्राउ गरिसहेको छ। पक्राउ परेका तीन जनालाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न साउन ४ गते आदेश दिएको छ।
प्रतिक्रिया दिनुहोस !
