जापानमा गुन्जँदै नेपथ्य

काठमाडौं (अन्नपूर्ण): शृंखलाबद्ध कन्सर्ट प्रस्तुत गर्नका लागि लोकरक ब्यान्ड नेपथ्य जापान जाने भएको छ। यसपटक राजधानी टोकियोमा पहिलो कन्सर्ट गरे लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरूमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्ट महिनाको पहिलो साता त्यसतर्फ जाने भएको हो।
नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। त्यसैगरी ब्यान्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ। सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लोपटक ब्याण्डले आफूलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो। अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यो प्रसिद्ध मञ्चमा प्रस्तुत हुनपाउनु आफैंमा नेपथ्यका लागि कोसेढुंगा थियो।
‘जापानसँग धेरै सम्झनाहरू जोडिएका छन्,’ ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसंग जोडिएका मीठा यादहरूमध्ये केही वर्षअघि टोक्यो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रो लागि अविष्मरणीय रहेको छ।’ आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका दर्शकहरूले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दैआएको अमृत सुनाउँछन्।
लामो समयदेखि नेपाली तन्नेरीहरूका लागि आर्थिक अवसरको हिसाबले आकर्षक गन्तव्य जापान पछिल्लो समय भने उच्च शिक्षाका लागि पनि उल्लेख्य संख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ। यसरी आफूसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरूले नेपाली लोक भाकामा आधारित रहेर रक संगीतका हिसाबले प्रस्तुत गरिने नेपथ्यका गीतहरूलाई मनपराउँदै आएका छन्।
सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तवार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने गरी झन्डै १५ मिनेट लामो भिडियो रिपोर्टसमेत प्रस्तुत गरेको थियो।
कियोस्का साइले तयार पारेको त्यो भिडियोको छोटो अंश एनएचकेको सर्वाधिक महत्वको मानिने ‘प्राइम टाइम न्युज’मै देखाइएको थियो। त्यो यात्रालाई नेपथ्यले भूकम्प पीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रुपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्याण्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो।
प्रतिक्रिया दिनुहोस !
