दैलेखमा माओवादीको नाममा चन्दा उठाउने पक्राउ
दैलेख : दैलेखमा माओवादीको नाममा चन्दा उठाउन खोजेको आरोपमा दुई युवा पक्राउ गरेका छन् । जिल्लाको दुल्लु नगरपालिका– १३ बस्ने १९ वर्षीय समिर शाही र २८ वर्षीय चन्द्रबहादुर शाही पक्राउ परेका हुन् ।
उनीहरुले नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लाई आर्थिक सहयोग गरिदिन भन्दै दुल्लु नगरपालिकाका मेयर भरत रिजाललाई रसिद र पत्र बुझाएको दैलेखका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए ।
पक्राउ परेकाले नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिदिनु भन्ने रसिद र पत्र दुल्लु नगरपालिकाको कार्यालयमा बुझाएको गोप्य सूचनाका आधारमा खोजी कार्य थालेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुवैलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पाँच थान पम्पेलेट, पार्टीको एक थान सहयोग ठेली, एक थान स्टमप्याट, एक थान पार्टीको छाँप, डायरी र कपी बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत दैलेख जिल्ला अदालतमा चन्दा ऐन २०३० सम्बन्धी मुद्दा दर्ता भई पाँच दिनको म्याद थप गरि हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।