लुम्बिनीमा रहेका प्रहरीका संरचना कर्णाली ल्याइँदै

लुम्बिनीमा रहेका प्रहरीका संरचना कर्णाली ल्याइँदै

दैलेख : कर्णाली प्रदेश प्रहरी कार्यालयले लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयको स्थानान्तरणका लागि प्रयास थालेको छ। 

प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार हाल लुम्बिनी प्रदेशअन्तर्गत नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रलाई सुर्खेतमा सार्ने प्रक्रिया थालिएको हो। 

तालिम केन्द्रका लागि सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा २३ बिघाा जग्गा प्राप्तिका लागि प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा फाइल पेश गरिएको ढकालले बताए। 

यस्तै नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके (हाल नेपालगञ्ज)लाई सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ र १४ स्थित गुमीमा स्थानान्तरण गर्न साढे चार बिघा जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा भएको छ। जग्गा र भवनको अभावमा हालसम्म पनि कर्णालीमा हुनुपर्ने प्रहरीका संरचना लुम्बिनीमा छन्।   

उक्त स्थानमा कार्यालय स्थानान्तरणका लागि भवन निर्माण र मर्मत कार्यका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पेश गरिएको ढकालको भनाइ छ। 

बहालवाला प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारीहरू र अमर प्रहरीका बालबालिकहरूलाई पठनपाठनका लागि स्थापना गरिएको नेपाल पुलिस स्कुल सुर्खेतको आफ्नै जग्गा नहुँदा भाडाको भवनबाट पठनपाठन भइरहेको छ। 

वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीस्थित कर्णाली प्रदेश प्रहरी गणका नाममा रहेको ३ बिघा ८ कट्ठा जग्गामध्ये २ बिघामा प्रहरी स्कुल, १ बिघामा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय र बाँकी ८ कठ्ठामा केनाईन शाखा राख्नका लागि आवश्यक प्रक्रिया पुरा गरी प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेर हाल गृहमन्त्रालयमा पुगेको ढकालले बताए। 

३ सय नागरिकलाई १ प्रहरी

यसैबीच कर्णालीमा एकजना प्रहरीको काँधमा तीन सय नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी देखिएको छ। जनसंख्याका आधारमा तीन सय तीन जना नागरिक बराबर एकजना प्रहरी कर्णालीमा कार्यरत छन्। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले कर्णालीको कठिन भूगोल र जनसंख्याको तुलनामा प्रहरी जनशक्तिको संख्या कम रहेको बताए।

राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ छ। कर्णालीमा प्रहरी जनशक्तिको कुल दरबन्दी ६ हजार २ सय ७९ जना रहेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए। 

भूगोलको हिसाबले ४.३७ वर्ग किमी क्षेत्रफल बराबर एकप्रहरी कार्यरत रहेको प्रहरीले जनाएको छ। ‘जनशक्ति अभावकाबीच शान्ति सुरक्षा कायम गर्न ४४ हजार ६ सय ६ गस्ती परिचालन गरिएको छ’ प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने,‘दुई हजार २ सय २५ अन्तरक्रियात्मक गस्ती, मेला पर्वको सुरक्षामा साढे ६ हजार र बन्द हड्ताल सुरक्षाका लागि चार हजार ९ सय ७८ प्रहरी जनशक्ति खटाइएको थियो।’ 

कर्णालीमा बढी मानिसहरूको भीडभाड हुने स्थान तथा व्यस्त बसपार्क लगायतका स्थानमा महिलाको सुरक्षाका लागि सुर्खेत, दैलेख, जुम्ला, दैलेख, जाजरकोट र रुकुम पश्चिमसहित ११ स्थानमा महिला प्रहरीसहितको सुरक्षा बिट स्थापना गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.